- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गसँग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबार स्थित भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपालको रेलवे विस्तारमा रसियाले लगानी गर्न इच्छुक रहेको बताएका छन् । रसियन रेलवेको तर्फबाट मन्त्रालयमा आशयपत्र समेत बुझाइएको छ ।
भेटमा मन्त्री नेम्बाङ्गले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देश बीचमा समन्वय नभइ कुनै काम नभएपनि सम्बन्ध सुमधुर रहेको बताए ।
काठमाडौंको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको तर प्रविधि र दक्ष जनशक्तिका साथै लगानीको समेत अभाव रहेको उल्लेख गर्दै हाल मेट्रो रेलको रेखाङकन, पूर्व सम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिर्पोट (डिपीआर) समेत तयारी भइसकेको र सो दस्तावेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको बताए ।
उनले रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको उल्लेख गरे ।
रसिया र अन्य विश्वको विभिन्न मुलुकमा रेल सम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्द नेपालको लागि समेत कोशेढुंगा हुने रसियन प्रतिनीधि मण्डलले उल्लेख गरेका छन् ।
पहाडी इलाकामा रसियन रेलवे टेक्नोलोजी जापानले अपनाएको उल्लेख गर्दै प्रतिनिधि मण्डलले नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।
भेटमा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल हुनका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषिऔजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लान्टबारे समेत छलफल भयो ।
उक्त भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सहसचिव रामहरी पोखरेल, रेल विभागका महानिर्देशक प्रमिलादेवी बज्राचार्य सहभागी रहेका थिए ।