arrow

अवैध भनिएको एक किलो बढी सुन सार्वजनिक गरिएन, प्रहरीको नियतमाथि नै शंका

logo
प्रकाश बम,
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
doti-jilla-prahari-karyalay.jpg

डोटी । गत माघ १४ गते अवैध भनिएको सुन र नगद बरामद गरेको प्रहरीले ३ साता पुगिसक्दा पनि सार्वजनिक गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यलय डोटीले स्रोत नखुलेको एक किलो एक सय ग्राम सुनसहित १७ लाख ४७ हजार नगद बरामदसंगै दुई जनालाई पक्राउ गरेको थियो । 

पक्राउ गरेका दुवैलाई छोडिए पनि बरामद सुन अहिलेसम्म सार्वजनिक गर्न नसक्नु र न त कानुनी प्रक्रिया नै थाल्नुले प्रहरीको नियतमाथि स्थानीय शंका गर्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट नगद बोकेर तराई जाने क्रममा कुलपातेबाट ६० वर्षिया काली भुललाई नगदसहित पक्राउ गरेको थियो । 

प्रहरीले नगदसहित पक्राउ परेकी केआईसिंह गाउँपालिका – ६ भिताणीकी महिलाको घरमा छापा मारेर लुकाएर राखेको एघार सय ग्राम सुन पनि बरामद गरेको थियो ।

काली र उनका भतिजालाई एक दिन जिप्रका डोटीमा राखेर दोस्रो दिन बयानपश्चात् छोडिएको प्रहरीको भनाइ छ । उक्त घटनासँग जोडिएका अन्य ब्यक्तिहरुको खोजी भैरहेको र घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले दाबी गरे पनि अहिलेसम्म बरामद सामान सार्वजनिक गर्न नसक्दा नियतमा शंका उब्जिएको हो । 

२३ दिन बितिसक्दा समेत अवैध सुन प्रकरणमा मुछिएकाहरुलाई सुन लुकाउनेदेखि फरार हुन प्रहरीले नै वातावरण मिलाएको श्रोतको भनाइ छ । ठूलो मात्रामा भित्रिएको सुन अन्य ब्यक्तिहरुले समेत बाँडेर लगेको खुल्न आएको छ । 

प्रकरणमा जोडिएका अन्य व्यक्तिहरु अझै फरार छन् । पक्राउ परेकी महिलाले डोटीकै सुन पसलमा सुन बिक्री गरेर नगद लिएको खुल्न आएको श्रोत बताउँछ । घटनासँग जोडीएका, भारतबाट मिलेमतोमा सुन भित्र्याउने ब्यक्तिहरु कहाँ छन् प्रहरी बेखबर छ नै स्रोत नखुलेको बिल विनाको सुन खरिद गर्ने व्यापारीबाट समेत सुन जफत गर्न सकेको छैन ।

जिल्लाको प्रहरी नेतृत्व समेत परिवर्तन भएको छ, तर सुनका विषयमा प्रहरीले त्यती चासो नदेखाएको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भैरहेको बताए । उनले भने, ‘प्रहरीले अन्य सुन र व्यक्तिलाई यो बीचमा पक्राउ नगरिएको तर अनुसन्धान भैरहेको छ ।’

जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वाटरमार्फत आफूहरुलाई सूचना आएपछि सुन र नगद बरामद गरिएको बताए । उनले भने, ‘हामीले बरामद गरिएको सुनको मुचुल्का बनाएर राखेका छौं । बरामद सुनका विषयमा हेडक्वाटर मार्फत दूतावासमा जानकारी गराएका छौं ।’ 

भारतीय दूतावासमार्फत केही व्यक्ति सम्पर्कमा आएको बताउँदै उनले भने, ‘उनीहरु एक हप्ता भित्र आउने कुरा आएको छ।’ तर, सम्पर्कमा आएका व्यक्ति को हुन् र कहाँबाट आएका हुन् सोबारे भने प्रहरीलाई जानकारी नभएको उनले प्रतिक्रिया दिए । प्रहरीको यो प्रतिक्रियाले पनि जनमानसमा थप शंका गर्ने ठाउँ दिएको स्थानीय बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ