arrow

चीनमाथि बाइडेन प्रशासनको दबाबसँगै ‘साउथ चाइना सी’मा भियतनाम र फिलिपिन्सको सक्रियता

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
south-china-sea1.jpg

काठमाडौं । ताइनवान स्ट्रेट र दक्षिण चीन सागर (साउथ चाइना सी)मा जल सेना तैनाथ गर्दै जो बाइडेन प्रशासनले पछिल्ला केही साता यता बेइजिङमाथि दबाब बढाएको छ ।दक्षिण चीन सागरको ९० प्रतिशत जल सागर चीनले आफ्नो दाबी गर्दै आएको छ । बेइजिङमाथि बाइडेन प्रशासनको दबाब सँगै चीनका मुख्य दुई प्रतिद्वन्द्वी फिलिपिन्स र भियतनामले पनि यो क्षेत्रमा सक्रियता बढाएका छन् ।

चीन भने यो क्षेत्रमा पहिलेदेखि नै आफ्नो पकड बलियो बनाएको छ । विवादित जल क्षेत्रमा दाबी गर्ने अन्य ६ मुलुक र अमेरिकालाई टक्कर दिँदै चीनले त्यहाँ आफ्नो प्रशासनिक क्षेत्र नै बनाइसकेको छ । 

चिनियाँ विस्तार
अमेरिकी ‘नौ सेना युद्ध कलेज’को एक रिपोर्ट अनुसार चीनले दक्षिण चीन सागरको उत्तरी क्षेत्रमा क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठुलो शहर निर्माण गरेको छ ।

एक दशक अघि फेला परेको ‘सान्सा सिटी’को क्षेत्रफल चिनियाँ रिपोर्टहरूमा उल्लेख भए अनुसार २० लाख वर्ग किलोमिटर छ । यसले २८० भन्दा बढी टापुहरू समेट्छ । विश्वको सबैभन्दा ठुलो शहर मानिने टोकियोको क्षेत्रफल करिब ९ हजार किलोमिटर मात्रै छ ।

दक्षिण चीन सागरको प्यारासेल आइसल्याण्ड क्षेत्रमा रहेको सान्सा सिटीमा चीनले बन्दरगाह सम्बन्धी पूर्वाधार, ढल निकास, नयाँ वस्ती निर्माण, ५जी विस्तार, स्कुल समेत निर्माण गरेको छ । हाल चीनबाट सान्सा र सान्साबाट चीन दैनिक उडान पनि हुने गरेको छ ।
 
सैन्य विस्तार एवं अन्य सुरक्षाका गतिविधिहरूसँगै चीनले कोरोना महामारीकै बेला यहाँ दुई नयाँ प्रशासनिक क्षेत्र घोषणा गरेको थियो । 

राज्य परिषद्बाट स्वीकृति लिँदै चीनले सन् २०२० को अप्रिलमा सान्सा सिटीमा ‘जीशा’ र ‘नन्शा’ दुई नयाँ जिल्लाको घोषणा गरेको हो ।

बाइडेनले कार्यालय सम्हाल्नुभन्दा केही दिन अघि मात्रै चीनले आफ्नो सेनालाई यो क्षेत्रमा आफ्नो कब्जाका लागि व्यापक गतिविधि चाल्न सक्ने किसिमको ‘कोस्ट गार्ड कानुन’ अघि सारेको थियो ।

अन्तर्राष्ट्रिय कानुन विपरीत जलीय सागरमा चीनले व्यापक कब्जा र विस्तार गरिरहेका बेला आफ्नो समुद्री हितको रक्षाका लागि साना शक्तिहरू पनि बल विस्तारमा लागेका छन् ।

वासिंगटन आधारित ‘समुद्री पारदर्शिता पहल’ले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार भियतनामले पनि स्प्राट्ली आइसल्याण्डमा आफ्नो हवाई एवं जल सेना सुदृढीकरण गरेका छ ।

भियतनामी रक्षा सुदृढीकरण
चिनियाँ तुलनामा भियतनामी सैन्य क्षमता निकै कम हो । तर, आवश्यक परेको खण्डमा स्प्राट्ली नजिकको वेस्ट रिफमा रहेका हतियारले चिनियाँ सैन्य सुविधाहरूलाई स्ट्राइक गर्ने क्षमता राख्छ ।

यो क्षेत्रमा भियतनामले नागरिक एवं सैन्य सुविधाका लागि विभिन्न किसिमका पूर्वाधारहरू निर्माण गरेको छ । 
खासमा चिनियाँ सेनाको गतिविधिलाई टक्कर दिनका लागि  भियतनामले विभिन्न किसिमका अत्याधुनिक सैन्य उपकरणहरू पनि यो क्षेत्रमा जडान गरेको छ । 

सन् १९८८ मा 'साउथ चाइना सी' कै स्प्राट्ली आइसल्याण्डमा भियतनामी र चिनियाँ सैन्यबीच झडप भएको थियो । जसमा भियतनामका दजर्नाैं सैनिकले ज्यान गुमाएका थिए ।

विवादित जलिय सागरमा आफ्नो दाबीसँगै चीनले पछिल्लो समय आक्रामक गतिविधिहरू अघि सारेका छ । तर, चीनलाई टक्कर दिन भियतनामसँगै फिलिपिन्सले सक्रियता बढाउन खोजेको छ । 

फिलिपिनी सेना प्रमुख सिरिलिटो सोबेजानाले चिनियाँ सेनाबाट हुनसक्ने सम्भावित खतरा र फिलिपिनी मछुवा (माछा मार्ने) हरूलाई जोगाउन थप सेना तैनाथ गर्न निर्देशन दिएका थिए ।

अमेरिकी सहकार्य खोज्दै फिलिपिन्स 
फिलिपिन्सकै समुद्री तटमा आएर कथित चिनियाँ सैन्य ‘भेसल’ले सन् २०१९ मा २२ फिलिपिनी मछुवाको हत्या गरेको थियो ।
सन् १९९९ मा सुरु भएको फिलिपिन्सले अमेरिकासँग ‘फिलिपिनी–अमेरिकी भ्रमण बल सम्झौता’लाई केही समयका लागि राष्ट्रपति रोड्रिगो दुतेर्तेले स्थगनमा राखेका थिए ।

तर, केही दिनअघि (फेब्रुबरी १४) फिलिपिन्सको विदेश मामिलाका सचिव टेओडोरो लोक्सिनले दुवैपक्षले भेटवार्ता गर्ने बताएका छन् । उनका अनुसार यसै महिना (फेब्रुअरी)को अन्त्यसम्म दुवै पक्षले वार्ता गर्ने असमझदारीलाई समाधान गर्ने बताएका छन् ।
यो सम्झौताले दक्षिण चीन सागरमा फिलिपिन्स र अमेरिकी नौसेनाको सैन्य अभ्यास एवं अन्य गतिविधिहरू गर्न दिन्छ । चिनियाँ विस्तारवादलाई नियन्त्रण गर्ने एक उपाय यो पनि हो ।

यसबाहेक फिलिपिन्सका सेना प्रवक्ता एवं मेजर जनरल एडगार्ड अरेभालोल  दक्षिण चीन सागरमा चीनको बढ्दो विस्तारवाद र प्रभुत्वविरुद्ध जनादेश र संविधान अनुरूप अघि बढ्ने बताएका छन् । फेब्रुअरी २० मा उनले एक सम्बोधनका क्रममा आफ्नो देशको हित, संरक्षण र जनताको चासो समर्थन गर्न सेना तयार रहेको र यो नै प्राथमिक विषय रहने बताएका छन् ।

अमेरिकी दबाब
हालै ‘फ्रिडम अफ नेभिगेसन अपरेशन’ अन्तर्गत अमेरिकी रक्षा विभाग पे.न्टागनले स्प्राट्ली आइसल्याण्डको चिनियाँ दाबी जल क्षेत्रमा निर्देशित मिसाइल विनाशक ‘युएसएस रसल’ युद्धतोप तैनाथ गरेको छ । 

त्यस्तै, प्यारासेल आइसल्याण्डमा पनि अमेरिकी अर्को ‘मिसाइल डिस्ट्रोयर’ ‘युएसएस जोन एस म्याककेन’ पनि पठाएको थियो ।
यसबाहेक बाइडेन प्रशासनले ‘निमित्ज’ र ‘थियोडोर रुजवेल्ट’ युद्धपोत पनि यहाँ पठाएको थियो । अन्तर्राष्ट्रिय कानुन अनुसार स्वतन्त्र जलिय क्षेत्रमा चीनको दाबीलाई चुनौती दिँदै अमेरिकाले यी ‘अपरेशन’ गरेका हो । चीनले भने ‘अमेरिकी कदमले अस्थिरता निम्त्याउन खोजेको भन्दै’आक्रामक प्रतिक्रिया दिएको थियो । 

बाइडेनको कार्यकालको पहिलो महिनामै चीनले दाबी गर्दै आएको जल क्षेत्रमा अमेरिकाले कम्तीमा तीन वटा विशेष नाभल अपरेसनहरु गरेको हो ।अमेरिकी रक्षा विभागले चीनको विवादास्पद कोस्ट गार्ड कानुनको समेत विरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ