arrow

महासङ्घ र नेपाल बैङ्कर्स सङ्घबिच ऋण सहजीकरणमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
fncci-nba-smb.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल बैङ्कर्स सङ्घका बिच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रवर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बैंकर्स सङ्घका अध्यक्ष भुवन कुमार दाहालले आज एक कार्यक्रम बिच महासङ्घको सचिवालयमा हस्ताक्षर गरेका हुन्।

दुवै संस्था बिच भएको समझदारी अनुसार वाणिज्य बैङ्कहरू र एसमएमईजहरूका बिच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइ समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैङ्कहरूका बिच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यावसायिक वातावरण सृजना गर्न र उद्यमी, व्यवसायी एवं बैङ्कहरूका हित प्रवर्द्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम छ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासङ्घका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्था बिच भएको यो समझदारी कोशेढुंगा हुने बताए। आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौँ, निश्चय नै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अव संशोधन गर्नेछ अध्यक्ष गोल्छाले भने–एसमएमईजलाई सघाउन सके मात्र समृद्धि सम्भव छ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि उपस्थिति रहेको सो अवसरमा बैङ्कर्स सङ्घका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्था बिच भएको समझदारीमाथि आफूलाई गर्व महसुस भएको बताउँदै अगाडि भने,' हामी दुवै संस्था समृद्धिका असल साझेदार हौँ। हामी बिचको सहकार्य निरन्तर अगाडी बढ्ने बताउँदै अध्यक्ष दाहालले हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौ। अहिले पनि मुलुक भित्र ७४९ वटा स्थानीय निकायसम्म बैङ्किङ पहुँच विस्तार भैसकेको जानकारी गराउँदै महासङ्घको यो सहकार्य पछि तल्लो तहसम्म गएर वास्तविक सहयोग खोजी रहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने उनले स्पष्ट पारे।

महासङ्घको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठुलो राहतको महसुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत बसेर कार्य योजना बनाई कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुँचको अभाव नै रहेको पाइएकोले एसएमईजहरुलाई नै केन्द्रित गरी भएको यो समझदारीले अव त्यो समस्यालाई संशोधन गर्ने विश्वास प्रकट गरे। मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने बताए। 

कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ