arrow

खाशोग्गीको हत्याको विषयमा सीआईएद्वारा प्रतिवेदन सार्वजनिक

logo
सिन्ह्वा,
प्रकाशित २०७७ फागुन १५ शनिबार
jamal-khashoggi-journalist-killed.jpg

वसिङटन। साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रवार प्रतिवेदन सार्वजनिक गरेको छ। यहाँको अनुसन्धानबाट तयार भएको सो प्रतिवेदनमा सो हत्यामा साउदी अरेबियाका राजकुमारको हात रहेको भनी आरोप लगाइएको छ।

गत बिहीबार खशोग्गी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बताइएको थियो र शुक्रवार सो अनुसन्धान रिपोर्ट अमेरिकामा सार्वजनिक गरिएको बताइएको छ। उक्त रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ। उसले गरेको अनुसन्धानका आधारमा यो रिपोर्ट सार्वजनिक गरेको हो।

उक्त रिपोर्टमा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई हत्याको योजनामा संलग्न रहेको भनेर ठहर्‍याइएको समाचारमा जनाइएको छ। साउदी अरबका कट्टर आलोचक मानिने खाशोग्गी एक चर्चित पत्रकार तथा लेखक थिए। उनी ‘अल अरब’ न्युज च्यानलका पूर्व प्रधान सम्पादकसमेत थिए भने वासिङ्टन पोस्टका स्तम्भकार भएर पनि काम गरेका थिए।

खाशोग्गी साउदी अरेबियाको एक आलोचक भएपछि उनी सन् २०१७ को सेप्टेम्बरमा साउदी अरेबियाबाट भागेर अमेरिका पुगेका थिए। उनले देशबाहिर बसेर पनि साउदी अरेबिया सरकार र युवराज सलमानको आलोचना गर्दै समाचार तथा लेखहरू लेख्दै आएका बताइएको थियो।

पछिल्लो समय वासिङ्टन पोस्टमा नियमित स्तम्भ लेख्दै आएका उनको हत्या सन् २०१८ मा टर्कीको स्तानबुलमा भएको थियो। सन् २०१८ को अक्टोबरमा टर्कीको राजधानी स्तानबुलमा रहेको साउदी अरेबियाको दूतावासमा उनको हत्या भएको थियो। उनी टर्कीका एक महिलासँग विवाह गर्ने तयारीमा रहेको बताइएको थियो।

उनको हत्यापछि त्यहाँ कार्यरत आठ जनाभन्दा बढी टर्की र साउदी अरेबियाका कर्मचारीलाई पक्राउ गरी कारबाही थालिएको छ। साउदी अरेबियाको अदालतले ती पत्रकारको हत्यामा संलग्न रहेको आधारमा पक्राउ गरिएको भनिएका आठ जनामध्ये पाँच जनालाई २० वर्षको जेल सजाएँ सुनाएको छ।

त्यसै गरी अरू तीन जनालाई सात देखि १० वर्षसम्मको जेल सजाएँ सुनाइएको थियो। गत सेप्टेम्बरमा उनीहरू विरुद्ध सो कारबाही सुनाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

उता शुक्रवार सार्वजनिक भएको यो रिपोर्टको साउदी अरेबियाले भने अस्वीकार गर्दै आएको छ। साउदी अरेबियाले आफ्ना राजकुमार सो हत्यामा संलग्न भएको भनी दिएको रिपोर्टमा कुनै सत्यता नरहेको बताएको छ।



नयाँ