arrow

चिनियाँ व्यक्ति भिजेपछि, हाइड्रो र मजदुरबीच तनाव

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
hydropower.jpeg

काठमाडौँ । १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाव भएको छ ।

 शुक्रवार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले एक्स्काभेटर सफा गर्ने क्रममा पानी उछिटिन गई एक चिनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चिनियाँ व्यक्तिले ढुङ्गा प्रहार गर्दा एक्स्काभेटर सिसा फुटेपछि कर्पोरेसनका व्यवस्थापक र मजदूरबीच तनाव उत्पन्न भएको हो ।

सोही विषयलाई लिएर मजदुरले विगत लामो समयदेखि आयोजनासँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै करिब ४०० मजदुर आन्दोलनमा उत्रिएका छन् । आयोजनामा काम गर्दै आएका मजदुरले शनिवारदेखि निर्माण कार्यमा सहभागी नभएको सिनो हाइड्रो मजदुर युनियनका अध्यक्ष आशिष श्रेष्ठले बताए ।

दुवै पक्षबिच खतरा हुने देखिएकाले समस्या समाधान नहुँदासम्म काम रोकेर छलफलका माध्यमबाट सहजीकरण गर्न लागिएको बताइएको छ । वर्षमा १० प्रतिशतका दरले तलब वृद्धि गर्ने, सञ्चय कोषको व्यवस्था, जोखिम बहन अनुमति बहनलगायत माग राख्दै आएकामा सम्बोधन हुन नसकेको सरोकार समितिका सचिव कुशबहादुर थापाले जानकारी दिए ।

हाल निर्माण कार्य बन्द गरी आन्दोलनमा रहे पनि वार्ताको माध्यमबाट विवाद टुङ्ग्याउने गरी टोली गठन गरेर छलफल भइरहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रलाई चार समूहमा विभाजन गरी निर्माण कार्य थालेको छ । जिल्लाको साबिकको झन्डै १८ गाउँ विकास समिति प्रभावित हुने सो आयोजनाले जनाएको छ । जलाशय क्षेत्रअन्तर्गत भीमाद, छाङ, माझकोट, ऋषिङ, रानीपोखरी, कोटदरबार, जामुने, साबुङभगवतीपुर, काहुँ शिवपुर र व्यास नगरपालिका रहेका छन् ।

त्यसै गरी बाँध, विद्युत् गृह, पानी निष्कासन सुरुङ र स्विच वार्ड काँहु शिवपुर र व्यास नगरपालिकामा रहने छ । आयोजनाको सुविधा संरचना (पहुँच मार्ग, बसोबास क्षेत्र, ब्याचिङ्ग वार्ड) काँहु शिवपुर र व्यास नगरपालिकामा रहेको छ भने तल्लो तटीय क्षेत्र काँहु शिवपुर, पोखरी भन्ज्याङ, केशवटार, धरमपानी, बैदी, छिपछिपे, देवघाट र देउराली रहेको छ । आयोजनाको लम्बाइ १८ किलोमिटर रहने छ । पानीले भरिँदा पानीको अधिकतम सतह समुन्द्र सतहबाट ४१५ मिटर रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ