- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। लगानी बोर्डको पहलमा नेपाल सरकारका उच्च अधिकारीहरूको टोलीले सङ्खुवासभा जिल्लामा अवस्थित तीव्र रूपमा निर्माण भइरहेको अरुण-३ जलविद्युत परियोजनाको आज निरीक्षण गरेको छ।
निरीक्षणको क्रममा टोलीले परियोजना कार्यान्वयनमा देखिएका समस्याहरूबारे स्थानीय सरोकारवालाहरूसँग छलफल समेत गरेको छ। उक्त टोलीले सङ्खुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माण स्थल तथा चिचिला गाउँपालिकास्थित दिदिङ्गको विद्युत्गृह निर्माण कार्यको अवलोकन गर्यो।
साथै, उक्त टोलीले परियोजना विकासकर्ता कम्पनीका पदाधिकारी तथा चिचिला गाउँपालिका र मकालु गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा अन्य सरोकारवालाहरूसँग पनि छलफल गरेको विज्ञप्तिमा जनाइएको छ।
सो टोलीमा गृह सचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव दिनेश घिमिरे, लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारी, बोर्ड कार्यालयका सिनियर डिभिजन इन्जिनियर सागरराज गौतम लगायतको सहभागिता थियो।
सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन भइरहेको ९०० मेगावाट क्षमताको उक्त परियोजना निर्माणको करिब ४० प्रतिशत काम सम्पन्न भैसकेको छ।
परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ वर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको छ।