arrow

अत्यधिक कोरोना प्रभावित इटलीमा गरीबीको दर उच्च

logo
एएफपी,
प्रकाशित २०७७ फागुन २० बिहिबार
corona-italy111.jpg

रोम । कोरोनाभाइरस महामारीले ग्रसित इटलीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरीबीको दर पनि १५ वर्ष यताकै उच्च देखिएको छ । इटलीमा सन् २००५ पछि गत बर्ष गरिबीको दर बढेर उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी  तथ्याङ्कमा उल्लेख छ ।
 
करिब छ करोड जनसङ्ख्या रहेको यस यूरोपेली मुलुकमा पूर्ण गरीबीमा रहेका मानिसहरूको सङ्ख्यामा सन् २०२० मा १० लाख वृद्धि भई ५६ लाख पुगेको छ ।
 
इटालीको तथ्याङ्क कार्यालय ‘स्टाट’ का अनुसार इटलीमा गरिबको रूपमा हेरिएका घरपरिवारको संख्या १७ लाखबाट बढेर २० लाख पुगेको छ भने उनीहरूले खाद्यान्नलगायतका दैनिक जीवनका आधारभूत आवश्यकता धान्न नसक्ने अवस्था रहेको छ ।

प्रतिशतको हिसाबले ९.४ प्रतिशत व्यक्ति र ७.७ प्रतिशत परिवारहरूलाई गरिबको रूपमा वर्गीकृत गरिएको छ । यो इटलीले गरिबीको तथ्याङ्कको लोखाजोखा राख्न थालेपछिको सबैभन्दा उच्च तह हो ।
सन् २००५ मा केवल तीनदेखि चार प्रतिशत इटालियाली परिवार तथा व्यक्तिहरू पूर्ण गरिबीमा रहेका ‘स्टाट’ले उल्लेख गरेको छ ।

सन् २०११ पछि यो दर बढेपछि इटालीले चरम आर्थिक सङ्कटको सामना गर्‍यो र त्यसबेलादेखि तुलनात्मक रूपमा सामान्य वृद्धि हुँदै आएको थियो ।

तथ्याङ्क अनुसार इटलीमा औसत मासिक घरेलु खर्च सन् २०२० मा सन् २०१९ को तुलनामा ९.१ प्रतिशत घटेर दुई हजार ३०० यूरो (करिब दुई हजार ८०० अमेरिकी डलर) पुगेको छ । यो तथ्याङ्क सन् २००० पछिको सबैभन्दा न्यून हो ।

इटली कोरोनाभाइरस महामारीको कारणले अत्यधिक ग्रस्त यूरोपको पहिलो मुलुक हो ।

कोभिड–१९ का कारण इटलीमा करिब एक लाख नागरिकले ज्यान गुमाएका छन् । गत वर्ष दोस्रो विश्वयुद्धपछि इटलीले सबैभन्दा खराब मन्दीको सामना गरेको छ ।

‘स्टाट’ले भनेको छ, “इटलीको औसत कूल गार्हस्थ उत्पादन सन् २०२० मा घटेर झण्डै चार लाख ५० हजार अर्थात् नौ प्रतिशतले घटेको र यसका कारण प्रायः महिला, युवा कामदार तथा स्वरोजगार नागरिकले रोजगारी गुमाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ