arrow

म्यान्मारमा सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने सुकीलगायत समूहको प्रतिबद्धता

logo
प्रकाशित २०७७ चैत १ आइतबार
myanmar-ku2.jpg

एएफपी, न्यापित ।  म्यानमारमा गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भने,  “अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो क्षण हो । साथै छिट्टै बिहानी आउन लागेको अवस्था पनि हो ।” सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले ‘सीआरपीएच’ नामक एउटा समिति गठन गरेका थिए । मान विन खाइन थान त्यसका प्रमुख हुनुहुन्छ र सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ ।

भूमिगत रहेर नै उनले सैन्य ‘कू’ स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहनुभएको छ । सैन्य शासनविरूद्ध भएको आन्दोलनका क्रममा शनिवार म्यान्मारमा १२ प्रदर्शनकारीहरूको मृत्यु भएको छ ।

सेनाले सत्ता हातमा लिएर नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) की नेत्री आङ सान सूकीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ । गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै बहुमत प्राप्त समूहलाई नेतृत्व नदिई सैनिक सक्रियतामा सरकार गठन गरेको छ । यद्यपि सेनाले एक वर्षभित्र निर्वाचन गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफु तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ