- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । स्थानीय स्तरमा रहेका प्रसिद्ध पर्यटन क्षेत्रहरूलाई चलायमान गराएर आर्थिक क्रान्तिलाई सबल बनाउनका लागि रुपन्देहीको सदरमुकाम भैरहवामा सडक खाना महोत्सवको आयोजना गरिने भएको छ । नेपाली नयाँ वर्ष २०७८ को अवसर पारेर सिद्धार्थ सडक खाना महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रमको समेत तय गरिएको छ । जुन कार्यक्रमले कोरोना भाइरसका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई पुनः ब्युँताउने कार्यमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
कोरोना भाइरसबाट बच्नका निम्ति गरिएको लकडाउनले शून्य अवस्थामा पुर्याएको पर्यटन व्यवसायलाई पुर्न उत्थान गरी पर्यटन प्रवद्र्धनसंगै, व्यापार व्यवसायलाई पनि चलायमान बनाउन र आन्तरिक तथा बाह्य पर्यटकहरूको वृद्धि गर्ने उद्देश्यका साथ सडक खाना महोत्सवको आयोजना गरिएको उक्त महोत्सव आयोजक उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताएका छन् ।
सो महोत्सवमा विभिन्न जातजाति, संस्कृति सँग जोडिएका खानाका परिकार पस्किनुका साथै साना तथा ठुला होटलहरुले पनि आफ्ना स्टल, थारु जाति र गुरुङ मगर नेवार समुदाय लगायतका खानाका स्टलहरू महोत्सवमा रहने कार्यक्रम संयोजक तथा सङ्गठनका कोषाध्यक्ष सचिन रोकाले जनाए ।
यही चैत ३१ गते सडक खाना महोत्सव आयोजना गरिएको उद्योग व्यापार सङ्गठन रुपन्देहीले जनाएको छ । भैरहवा स्थित देवकोटा चोक देखि बसपार्क सम्मको सडकमा खाना महोत्सव आयोजना गरिने र महोत्सवमा १ सय वटा स्टल राखिने र करिब १ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा रहेको सङ्गठनका कोषाध्यक्ष रोकाले जानकारी दिए ।
उद्योग व्यापार सङ्गठनले सिद्धार्थनगर नगरपालिका भैरहवा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशलाई प्रस्तावित रूपमा सह आयोजकको रूपमा राखेको बत्ताइएको छ । त्यस्तै सहयोगी संस्थाको रूपमा होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठन रुपन्देही, सिद्धार्थ होटेल एसोसिएसन शान, (नाटा) लुम्बिनी प्रदेश र सोटो सिद्धार्थनगरलाई प्रस्तावित समेत गरिएको र रात्रिको मध्य १२ बजे सम्म महोत्सव आयोजना हुने उल्लेख छ ।