arrow

डब्ल्यूएचओको महत्वपूर्ण बैठक हुँदै, गर्दै कोरोना खोपबारे अहम् निर्णय

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
covid-vaccine-astrazenica.jpg

काठमाडौं । कयौँ युरोपेली देशहरुले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोप वितरणमा अस्थायी रोक लगाएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) चिन्तामा देखिएको छ । 

डब्ल्यूएचओले त्यसो गर्न आवश्यक नरहेको ती देशहरुलाई भनेको छ । उसले खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको स्पष्ट पारेको छ । 

जर्मनी, फ्रान्स, इटाली र स्पेनले उक्त खोपको प्रयोग रोक्न साना देशहरुले चालेका कदमलाई पछ्याएका छन् । यसबारे अनुसन्धान भइरहेका बेला ती देशहरुले भने सावधानीका उपायका रुपमा त्यसो गरिएको स्पष्ट पारेका छन् । 

यसरी धमाधम धेरै देशले यो खोपमाथि प्रश्न उठाउन थालेपछि डब्ल्यूएचओका खोप सुरक्षा विज्ञहरुले यसबारे मंगलबार छलफल गर्दैछन् ।

उनीहरुले विशेष घोषणा गर्न सक्ने अनुमान गरिएको छ । मंगलबारै युरोपेली औषधी निकाय (ईएमए)ले समेत बैठक गर्दैछ । 

ईएमएले बिहीबारमात्र मंगलबारको बैठकको निष्कर्ष सार्वजनिक गर्दैछ । 

यो खोप लगाएपछि युरोपमा रगत जम्ने अवस्था विकास भएका कयौँ घटना देखा परेपछि युरोपेली देशहरुले यसमा रोक लगाएका हुन् । विज्ञहरु भने ती आम जनसङ्ख्यामा देखापर्ने रगत जम्ने घटनाभन्दा बढी नभएको बताएको बीबीसीले लेखेको छ । 

एस्ट्राजेनेकाका अनुसार गत सातासम्ममा रगत जम्ने त्यस्ता घटना ४० भन्दा कम देखा परेका छन् ।

सोमबार मात्रै नेदरल्याण्ड्सले रोक लगाएको छ । त्यस्तै आइरिस रिपब्लिक, पोर्चुगल, डेनमार्क, नर्वे, बुल्गरिया, आइसल्याण्ड र स्लोभेनियाले खोप दिने कामलाई अस्थायी रुपमा रोकेका छन् ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो र इन्डोनेशियाले खोप कार्यक्रम पर सारेका छन् भने अस्ट्रियासहितका केही युरोपेली देशले खोपका केही खेप प्रयोग गरेका छैनन् ।
 



लोकप्रिय समाचार
नयाँ