- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
टोकियो । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको टोकियोमा रहेका छन् । यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो ।
टोकियोमा जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिए ।
चीनको प्रभाव बढ्दै भन्दै अमेरिकाको वर्तमान जो बाइडेन प्रशासनले आफ्ना साझेदार मुलुकहरुबीचको परम्परागत गठबन्धन अझ सुदृढ गर्ने योजना अघि सारेको छ ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नु परेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गरेका छन् ।
जापानी समकक्षीसँगको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा उनीहरुले चीनका पछिल्ला गतिविधिहरु विश्व मामिला अनुकूल नभएको दाबी गर्दै चीनका यी गतिविधिबाट विश्वमै राजनीतिक, आर्थिक, सैनिक र प्रविधिगत चुनौतीहरु बढेको बताइएको छ ।
अमेरिका र जापान दुवै पक्षले एसिया प्रशान्त क्षेत्रमा विकास भइरहेका गतिविधिहरुप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उनीहरुले उत्तर कोरियालाई पूर्ण आणविक निरस्त्रीकरणका लागि आग्रह गरेका छन् । उनीहरुले उत्तर कोरियाली आणविक हातहतियारहरु अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताएका छन् ।
तर विदेश मन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गर्न चाहेनन्। उनले भने, “हामी उत्तर कोरियामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने विभिन्न पक्षमाथि विचार विमर्श गरिरहेका छौं ।”
किम जोङ उनकी बहिनी एवम् नेतृ किम यो जोङले आफ्नो देशमा बारुदको गन्ध नफैल्याउन चेतावनी दिएकी थिइन् । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भर्त्सना गरेको छ ।
किम यो जोङले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको एक साता नबित्दै अमेरिकालाई बारुदी क्रियाकलाप नगर्न भन्दै चेतावनी दिएकी हुन् । ‘चार वर्ष राम्ररी सुत्ने भए हाम्रो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर्नु।’ उनले मंगलबार त्यहाँको सरकारी पत्रिकामा भनेकी थिइन् ।
उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक रहेकी किम यो जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुवै देशबिचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताएकी छन् ।
उनले दक्षिण कोरियाको भावी दृष्टिकोण र कार्यहरूको पनि समीक्षा गर्न लागेको बताउँदै दक्षिण कोरिया र अमेरिकाले अरू आक्रामक रणनीति बनाए आफूहरू उत्तर–दक्षिण सैन्य सम्झौतालाई नै खारेज गर्ने स्थितिमा पुग्ने चेतावनी दिइन् ।