arrow

पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र चिनियाँ विदेश मन्त्रीबीच टकराव

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
usa-china-flag.jpg

काठमाडौं । अमेरिकाको अलास्कामा बिहीबार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले चीनका वरिष्ठ विदेश नीति अधिकारी यांग जिची र विदेश मन्त्री वांग यीसँग भेटवार्ता गरेका छन् ।

जो बाइडेन प्रशासनमा पहिलो पटक दुई ठुला शक्ति राष्ट्रका शीर्ष कूटनीतिज्ञहरूबीच भएको भेटमा उनीहरुबीच वार्ता टकरावको स्थिति सिर्जना भएको छ ।

वार्ताका क्रममा चिनियाँ अधिकारीहरूले अमेरिकाले चीनमाथि आक्रमण गर्न अन्य देशहरूलाई उक्साएको आरोप लगाएका छन् भने, अमेरिकाले चीनलाई आफूलाई अत्यधिक ठुलो ठानिरहेको आरोप लगाएको छ ।

यसबाहेक अमेरिकाले सिन्जियांगमा उइगर मुस्लिममाथि भइरहेको मानवअधिकार विरोधी घटनाको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

वार्ताको उद्घाटनमै अमेरिकी विदेश मन्त्री एन्टोनीले भनेका थिए, 'सिन्जियांग, हङकङ, ताइवान, र अमेरिकामाथि साइबर आक्रमण, अमेरिकी सहयोगी राष्ट्रमाथि आर्थिक जबरजस्ती लगायतका मुद्दाहरूमा गम्भीर चिन्ता प्रकट गर्दै अमेरिकाले छलफल गर्न चाहन्छ।'

'विश्वमा स्थिरता कायम गर्ने नियममा आधारित निर्देशनलाई  यी प्रत्येक कदमले खतरा उत्पन्न गराएको छ,' उनले भने ।

यसको बदलामा चिनियाँ विदेश मन्त्री वांग यीले अमेरिकाले आफ्नो सैन्य र वित्तिय बल प्रयोग गरेर अन्य देशहरूलाई दबाउन खोेजेको आरोप लगाए । 'राष्ट्रिय सुरक्षाको कथित धारणालाई प्रयोग  गरेर सामान्य व्यापार आदान प्रदानमा अवरोध गर्नुका साथै अमेरिकाले चीनमाथि आक्रमण गर्न अन्य देशलाई उक्सायो,' चिनियाँ विदेश मन्त्री वांग यीले भने ।

पछिल्लो समय चीन र अमेरिकाबीचको विवाद अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । बाइडेन प्रशासनमा पनि चीनले आफ्ना अवैधानिक कदमहरू सुस्त पार्ने नदेखिँदा चीन र अमेरिकाबीचको सम्बन्ध अझैं चिसो नै रहने सङ्केत यो वार्ताले गरेको  छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ