- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस् जोन्सनलाई शुक्रवार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ। युरोपेली सहित कतिपय मुलुकहरूमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन्। “मैले भर्खरै कोरोना भाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद,” उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
उनले खोप लगाउँदा आफूलाई सुरक्षित महसुस भएको बताउँदै अरूलाई पनि खोप लगाउन आह्वान गरेका छन्। “कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,” उनले उल्लेख गरेका छन्। खोप लगाएपछि आफूलाई कुनै असजिलो नभएको जानकारी दिँदै उनले खोप लगाउँदा छिटो र सजिलोसँग भएको बताए।
प्रधानमन्त्री जोन्सन गत वर्ष सन् २०२० को अप्रिलमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए। बेलायतमा प्रधानमन्त्री सहित अन्य विशिष्ट व्यक्तिहरूले पनि कोरोना विरुद्धको खोप लगाएका छन् भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ।
कोरोनाविरुद्धको खोपको प्रयोग पनि सबैभन्दा पहिले बेलायतबाटै भएको हो। त्यसपछि मात्रै अन्य देशहरूमा लगाउन थालिएको हो।