arrow

दम्पती बेपत्ता प्रकरण: अपहरण आरोपमा चार जना पक्राउ तर दम्पतीको अवस्था अझै अज्ञात

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत ९ सोमबार
arrest1.jpg

काठमाडौं। महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका वृद्ध दम्पती सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले आइतबार चार जनालाई पक्राउ गर्‍यो र सार्वजनिक गर्‍यो । 

तर, अपहरणको आरोपमा चार जनालाई पक्राउ गर्ने प्रहरीले घटनाको गुत्थी भने पत्ता लगाउन नसकेको पाइन्छ । पक्राउ गरिएकाहरू सार्वजनिक गर्दा वृद्ध दम्पती कहाँ छन् र उनीहरूको अवस्था के छ भन्ने बारे भने प्रहरीले केही खुलाएको छैन । 

१० फागुनमा ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झा आफ्नै घरको कोठामा सुतिरहेकै अवस्थामा ओछ्यानसहित बेपत्ता पारिएका हुन् । उनीहरूको अवस्था अझै पनि अज्ञात छ । 

घटनाको अनुसन्धान गरिरहेको नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले आरोपितहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरूमा पिपरा गाउँपालिका ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनकै छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव, भारतको विहारस्थित मधुवनी जिल्ला घर भएर महोत्तरीकै पिपरा गाउँपालिका ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुर छन् । 

तर सिआइबीले झा दम्पतीको अवस्था के छ र उनीहरू कहाँ छन् भन्नेबारे भने केही खुलाएको छैन । 

महोत्तरी प्रहरीसमेत घटनामा संलग्न रहेको प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरिएको बत्ताउँछ । तर उनीहरूको अवस्था बेपत्ता नै हो भन्नेमा प्रहरी सहमत छ । 

महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले प्रमाणले ती चार जनालाई अपहरणमा संलग्न रहेको देखाएपछि पक्राउ गरिएको तर झा दम्पती अझै बेपत्ता नै रहेको बताए । 

‘उनीहरूलाई प्रमाणले घटनामा संलग्नता देखायो र पक्राउ गरेका हौं, तर झा दम्पतीको अवस्था अझै बेपत्ता नै हो, हामी थप अनुसन्धानमा छौं, गुत्थी पत्ता लगाउन प्रयासरत छौं,’ महोत्तरीका एसपी आचार्यले हाम्राकुरासँग भने । 

मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाहरूले आङ्कलन गरिरहेका छन् । प्रहरीलेसमेत सोही तथ्यमा टेकेर घटनाको अनुसन्धान गर्दैअघि बढिरहेको छ ।  

प्रहरीले ती चार जनालाई पक्राउ गर्नुअघि उनीहरूको अवस्थाबारे अनुसन्धानका लागि करिब चार दर्जन व्यक्तिलाई सोधपुछ गरेको थियो । 

घटनाको सत्य तथ्य पत्ता लगाउन माग गर्दै परिवारजन र गाउँले छिमेकीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिँदै आएका छन् । तर चार जना पक्राउ परेपछि भने आन्दोलन रोकिएको छ । 

घटनाको निष्पक्ष छानबिन माग गर्दै प्रदेशको अस्थायी राजधानी जनकपुरदेखि देशको राजधानी काठमाडौंसम्म आन्दोलनका कार्यक्रमहरू हुँदै आइरहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ