- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नेकपा (माओवादी केन्द्र) ले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको कुरा उल्लेख गर्दै अहिलेसम्म माओवादी केन्द्रले किन समर्थन गरिरहेको त ? भन्दै फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त भन्ने टिप्पणी गरेका छन् । उनले भने,‘उहाँहरु प्रधानमन्त्रीसँग नैतिकता छैन भन्नुहुन्छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नुहुन्छ, उहाँहरुको अनुसार त यो सरकार अनैतिक सरकार भयो नि, त्यसो हो भने यो अनैतिक सरकारलाई किन समर्थन गरिरहेको त ? फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त ।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको स्पष्ट पारे । कतिपयले मुलुकमा फेरि अस्थिरता भयो भनेर टिकाटिप्पणी गरिरहेकोप्रति अहसहमति राखे । उनले भने,‘पहिलो कुरा त यो मुलुकमा अस्थिरता भयो भनेर जो भनिएको छ, कहाँ भयो अस्थिरता ? आफू मिल्न नसक्ने ? आफू काम गर्न नसक्ने ? अनि चलिरहेको सरकारलाई धारे हात लगाउँदैमा अस्थिरता हुन्छ र ? सरकार त चलिरहन्छ । निरन्तर चलिरहेको छ । केपी ओली ०७४ सालको निर्वाचनपछि प्रधानमन्त्री हुनुहुन्छ । अहिलेपनि हुनुहुन्छ । सरकार कहाँनिर अस्थिर भयो ? सरकार त निरन्तर छ ।’
उनले नेकपा (माओवादी केन्द्र) मा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेमा दुई धार रहेको सुनाए । उनले भने,‘संसद् अलिकति बिचमा हामीले, निर्वाचनतर्फ जाउँ न त, अलि-अलि नयाँ फ्रेश म्याण्डेटमा जाउँ न त भन्ने कुरामा नेपाली कांग्रेसको दृष्टिकोण खुलेर आयो । प्रष्ट ढंगले आयो । त्योभन्दा पुष ५ पछाडि, नेपाली कांग्रेस आन्दोलनमा थियो । त्यो आन्दोलन पार्टी सुदृढीकरण र निर्वाचनको लागि तयारी थियो । जसपाको पनि त्यही थियो । नेकपासम्वद्ध एउटा पक्ष भने सडक आन्दोलनमै थियो । तर, संसद् पूनःस्थापनापछि निर्वाचनको माहोल थियो, त्यो त हट्यो । हटेपछि अलिकति सरकार के हुन्छ ? भन्ने शंका सबैलाई लागेको छ । माओवादी केन्द्रबाट अहिले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्यो भनिएको छ । त्यसको अर्थ केपी ओली अनैतिक भन्ने अर्थमा लिए हुनछ । त्यसो भए हामीले त भनिरहेका छौं कि अनैतिक सरकारलाई किन समर्थन गरिरहेको ? फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त । तर, त्यो पनि जटिल रहेछ । उहाँहरुले समर्थन फिर्ता लिन सक्नुहुन्न । किन लिन सकनुहुन्न भने त्यहाँ भित्रपनि दुई वटा धार छ । एउटा धार समर्थन फिर्ता लिनैपर्छ, जे-जे पर्छ व्यहोरौं भन्ने छ । अर्को धार छ-होईन हिजो त सँगै बसेको हो नि त । फेरि सरकारमा मिलेर जाँदा के फरक पर्छ । त्यही भएर समर्थन फिर्ता लिन सक्नुभएको छैन् ।’
उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए के हुन्छ त ? भन्ने सवालमा पनि जवाफ दिएका छन् । उनले भनेका छन्-‘कांग्रेसको विचार प्रष्ट रुपमा आईसक्यो । माओवादीले समर्थन फिर्ता लियो भने उहाँले विश्वासको मत लिनुपर्छ । हामी समर्थन गर्दैनौं भनेको छ । अब अर्ली ईलेक्शनको सम्भावना छ । अर्ली ईलेक्शनमा जाने हो भने समर्थन फिर्ता लिए हुन्छ । हामी त वैशाख १७ र २७ मै निर्वाचको लागि तयार हो । माओवादीले समर्थन फिर्ता लियो भने देश फेरि निर्वाचनतर्फ अघि बढ्छ । यदि फिर्ता लिँदैन भने सरकार त बसिरहन्छ । राजनीतिक दलका आफ्ना एजेण्डा छन् ।’
उनले जनता समाजवादी पार्टी, नेपालका माग पूरा गराउन सरकार गम्भीर रहेको पनि सुनाए । उनले भने,‘जसपाका एजेण्डा छन् । उसलेपनि सरकारसामू आफ्ना एजेण्डा प्रस्तुत गरेको हो । नेकपा एमालेलाई सरकार सञ्चालनको लागि, कुनै दल केपी ओलीलाई प्रधानमन्त्री मान्दैनौं भनेर हस्ताक्षर गरेर अपदस्थ गर्छु भनेर कोही लागेको छैन् । माआवादी समर्थन फिर्ता लिएपछि, कुन दल आउँछ ? कोही आउँछ भने, हामी २ वर्ष पर्खिन तयार छौं । यदि केपी ओलीबाहेकको सरकार बनाउँछौं भनेर कोही आउँछन् भने पनि हामी हाँसी-हाँसी स्वागत गर्छौं । हामीमा कुनै त्यस्तो द्धिविधा छैन् । उहाँहरुले मिलेर १३८ पुर्याएर सरकार बनाउँछु भन्नुभयो खुशीका साथ स्वागत गर्छौं ।’
नेता तामाङले अरु दलहरुलाई अलमल नगर्न आग्रह गरेका छन् । उनले देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनले भने,‘अब सरकार विघटन र गठननमात्रै नगरौं, देशको विकास र समृद्धि गरौं । हाम्रो उद्देश्यमा भाँचो हाल्ने काम नगरौं । नेकपा एमालेमा पनि केही समस्या छन् । केही नेताहरुको मन मिलेको छैन् । यो पार्टी प्रतिपक्षमा बस्नुपरेछ भने अब दुई तिहाई बहमुतसहित फर्किन्छ । सरकारमा रहेर नै निर्वाचन गरेछ भने पनि बहुमतसहित फर्किनेछ । सबै कुरा ओपन छ । खल्ला छ । हामी लुकिछिपी गर्दैनौं । हाम्रो सबै कुरा खुल्ला रुपमा आउँछन् । केपी ओली स्पष्ट दृष्टिकोणसहित उभिनुहुन्छ । विकास र समृद्धिको अभियानमा लाग्नुपर्छ ।’