arrow

अमेरिकामा एक हप्तामा दुई गोलीबारी, १८ जनाको हत्या

नेपाली दुतावास बोल्यो

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
hatya-murder.jpg

काठमाडौं । अमेरिकामा एक हप्तामा सार्वजनिक स्थानमा दुई ठुला बन्दुक आक्रमण भएका छन् । सोमबार (हिजो) कोलोराडोको बोल्डरमा रहेको किंग सोपरस किराना स्टोरमा एक बन्दुकधारीले गोली चलाएर १० जनाको हत्या गरेको हो ।

प्रत्यक्षदर्शीहरुले यो घटनाको भिडियो खिचेर युट्युब एवं सामाजिक सञ्जालमा समेत लाइभ गरेका थिए । ती बन्दुकधारी सहजै सुपरमार्केटमा प्रवेश गरी गोली चलाएका थिए ।

प्रत्यक्षदर्शीहरुले अचानक घटना हुँदा चकित पर्नुका साथै आत्तिएको कुरा भिडियो फुटेजमा बोलेको सुनिन्छ । ती बन्दुकधारीको गोली लागेर बोल्डर प्रहरी विभागकै एक प्रहरीको ज्यान गएको छ । प्रहरीले सन्दिग्ध व्यक्तिलाई माथिल्लो शरीरमा लुगा नभएको अवस्थामा पक्राउ गरेको थियो ।

गत मङ्गलवार एक अर्का बन्दुकधारीले जर्जियाको एटलान्टा क्षेत्रमा रहेको स्पामा एसियन मूलकी ६ महिला सहित आठ जनाको हत्या गरेका थिए ।

पछिल्लो समय अमेरिकामा गोली हानी हत्याका घटना बढ्दै गएका छन् । सन् २०२० मा ६ सय भन्दा बढी मानिसहरूको हत्या गोली हानेर भएको छ भने, सन् २०१९ मा ४ सय १७ जनको हत्या भएको थियो । खास गरी सामूहिक हिंसा, झगडा र घरेलु कारण हत्याका घटनाहरू बढ्दै गएको यस सम्बन्धी तथ्याङ्क राख्ने गनभोइलेन्स संस्थाले जनाएको छ ।

कोलोराडोमा ती बन्दुक धारीले के कारण हत्या गरे भन्ने कुरा खुल्न सकेको छैन । अहिले सन्दिग्ध व्यक्ति प्रहरी हिरासतमा रहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

गत हप्ताको मङ्गलवार एटलान्टामा भएको घटनापछि भने एसियन अमेरिकीहरू विरुद्धको नस्लवादी दृष्टिकोणको चर्को विरोध भएको छ । कोरोना भाइरसको संक्रमण एसियन मूलका मानिसहरूबाट फैलिएको भन्ने भ्रमका कारण एसियनहरू प्रतिको दृष्टिकोण नकारात्मक हुँदा हिंसात्मक घटना बढेको बताइएको छ । अहिले अमेरिकामा देशव्यापी रुपमा यसको विरोध भइरहेको छ । 

अमेरिका स्थित नेपाली दूतावासले समेत यस विषयमा एक विज्ञप्ति जारी गर्दै जातीय समूहलाई लक्षित गर्दै कुनै पनि किसिमका हिंसाहरू निन्दनीय रहेको भन्दै यस्ता घटना रोक्न आग्रह गरेको छ । यस्ता घटनामाथि अमेरिकाले अनुसन्धान गरी न्याय दिलाउने विश्वास समेत विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ