arrow

विश्वकप फुटबल छनोट: बेल्जियम, पोर्चुगल विजयी हुँदा नेदरल्याण्ड पराजित, फ्रान्स बराबरीमा

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
worldcup-euro-qualifier.jpg

एजेन्सी। विश्वकप फुटबल २०२२को युरोपियन छनोटमा बेल्जियम, टर्की, पोर्चुगलले विजयी सुरुवात गरेका छन्। नेदरल्याण्डले भने समूह चरणको पहिलो खेलमा पराजय भोगेको छ। फ्रान्सले भने युक्रेनसँग १-१ गोलको बराबरी खेलेको छ। 

बेल्जियमले वेल्सलाई ३-१ गोलले पराजित गरेको छ। बेल्जियमका लागि केभिन डि ब्रुयन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले गोल गरेका थिए भने वेल्सका लागि ह्यारी विल्सनले गोल गरेका थिए। सुरुवाती अग्रता लिएको वेल्सले अग्रता जोगाउन नसक्दा पराजय भोग्नु परेको हो। 

समूह 'ई'मा चेक रिपब्लिकले ईस्टोनियालाई ६-२ गोलले पराजित गरेको छ। चेक गणतन्त्रका लागि टोमस साउसेकले ह्याट्रिक पुरा गरेका थिए। खेलमा अग्रता इस्टोनियाले लिए पनि पराजय रोक्न सकेन। 

त्यसैगरि समूह 'जी'मा नेदरल्याण्ड टर्कीसँग पराजित भएको छ। टर्कीले नेदरल्याण्डलाई ४-२ गोल अन्तरले पराजित गरेको छ। टर्कीका बुराक यिल्माजले ह्याट्रिक गरेका थिए। 

समूह 'ए'को खेलहरूमा पोर्चुगलले अजरबैजानलाई १-० गोलले पराजित गरेको छ। अजरबैजानका माक्सिम मेदवेदेवले आत्मघाती गोल गरेका थिए। उनको आत्मघाती गोल पोर्चुगलका लागि ३ अङ्क पाउन पर्याप्त भएको थियो। यही समूहमा सर्वियाले आयरल्याण्डलाई ३-२ गोलले पराजित गरेको छ। 

उता समूह 'डी'मा फ्रान्स र युक्रेनले १-१ गोल गर्दै अङ्क बाँडेका छन्। फ्रान्सका लागि एन्टोनियो ग्रिजम्यानले गोल गरेका थिए भने फ्रान्सका प्रेसनेल किम्पेबेले आत्मघाती गोल गर्दै खेल बराबरी हुन पुगेको थियो। यही समूहमा फिनल्याण्ड र बोस्निया हर्जगोविना बिचको खेल पनि २-२ गोलको बराबरीमा अन्त्य भएको थियो। 

समूह 'जी' कै खेलमा नर्वेले जिब्रालटारलाई ३-० गोलले पराजित गरेको छ भने मोन्टेनेग्रोले लात्भियालाई २-१ गोलले पराजित गरेको छ। 



नयाँ