arrow

भारतमा दिन प्रतिदिन बढ्दै संक्रमण

logo
एएनआई,
प्रकाशित २०७७ चैत १५ आइतबार
corona-india-test5.jpg

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना संक्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९ जना मात्रै संक्रमणमुक्त भएका छन् ।

संक्रमित हुनेहरुकोभन्दा संक्रमणमुक्त हुनेहरुको दैनिक सङ्ख्या थोरै भएकाले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा समेत दिन प्रतिदिन बृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३१२ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल एक करोड १९ लाख ७१ हजार ६३४ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कुल एक करोड १३ लाख २३ हजार ७६२ जना संक्रमणमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने चार लाख ८६ हजार ३१० रहेको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६१ हजार ५५२ पुगेको छ ।

कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाभाइरसबाट अहिलेसम्म ५४ हजार ७३ जनाको मृत्यु भएको छ ।  

भारतमा यही मार्च २७ सम्म कुल २४ करोड नौ लाख ५० हजार ८४२ जनाको कोरोना परीक्षण गरिएको छ भने कुल छ करोड दुई लाख ६९ हजार ७८२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।



लोकप्रिय समाचार
नयाँ