arrow

पेरुमा छ इन्धन ट्याङ्कर दुर्घटना, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

logo
सिन्ह्वा,
प्रकाशित २०७७ चैत १५ आइतबार
peru-tanker-explosion.jpg

लिमा। पेरुमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विस्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरुको प्रहरीले बताएको छ। पेरुको राष्ट्रिय राजमार्ग प्रहरी प्रमुख एर्लिन सिल्भाले घटनाको पुष्टि गरेका छन्। घटनामा कति व्यक्तिको ज्यान गएको हो भन्नेबारे अझै यकिन विवरण सार्वजनिक नभएको उनले बताए।

स्थानीय समय अनुसार शनिवार एक पेरु भियाली टेलिभिजनसँगको अन्तरवार्तामा उनले घटनाको विवरण दिँदै भने, “सडकमा इन्धन बोकेर गुडिरहेको एक ट्याङ्करमा सडकमाथिबाट आएको एउटा चट्टानले सँगै रहेका छ मध्ये पहिलो ट्याङ्करमाथि लागेपछि ट्याङ्करबाट इन्धन चुहेको र उक्त ट्याङ्करमा आगलागीपछि विस्फोट भएको र क्रमशः अन्य ट्याङ्करमा पनि आगलागी र विस्फोट भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्। घटनाबारे अनुसन्धान सुरु भइसकेको छ।” 

घटनास्थल राजधानी लिमाबाट ८६ किलोमिटर टाढाको राजमार्गमा भएको हो। आगलागी नियन्त्रण र बस्तीमा फैलिन नदिनका लागि १० दमकल घटनास्थलमा पुगी निरन्तर काम गरिरहेका बताइएको छ।

विस्फोटका कारण राजमार्गमा गुडिरहेका कार तथा अन्य गाडीहरूमा पनि असर परेको बताइएको छ तर कति व्यक्तिको मृत्यु भएको वा घाइते भएको भन्ने विवरण अझै आइसकेको छैन।

पेरुको यातायात तथा सूचना मन्त्रालयले आफ्नो ट्वीटरमार्फत् उक्त क्षेत्रमा गाडी तथा मानवीय आवतजावतलाई तत्कालका लागि रोकिएको र सवारी चालकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।



लोकप्रिय समाचार
नयाँ