arrow

विश्वकप छनोटः इटाली, इङ्गल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन विजयी 

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
football-france.jpg

काठमाडौं । विश्वकप छनोट फुटबल अन्तर्गत युरोपियन छनोटमा फ्रान्सले पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा काजखस्तानलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।

काजखस्तानको मैदानमा फ्रान्सलाई जिताउन ओसुमाने डेम्बेले गोल गरे । सेर्जिय माल्यीले आत्मघाती गोल गरेका थिए । 

फ्रेन्च स्ट्राइकर केलियन एमबाप्पेले भने पेनाल्टीमा गोल गर्न सकेनन् ।

यस जितसँगै समूह डी को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अंकविहीन काजखस्तान पुछारमा रहेको छ । 

आइतबार रातिको समूह डीको अर्को खेलमा युक्रेन र फिनल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । 

समूह बी मा स्पेन विजयी
समूह बी को खेलमा स्पेन विजयी भएको छ । स्पेनले जर्जियालाई २–१ गोल अन्तरले हरायो । स्पेनले पुनरागमन जित निकाल्ने क्रममा आइतबार रातिको खेलमा जर्जियालाई हराएको हो । घरेलु मैदानमा खेलको ४४ औं मिनेटमा केभिचा कभारट्सखेलियाले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा स्पेनले उत्कृष्ट पुनरागमन गर्यो । ५६ औं मिनेटमा फेरान टोरेसले र  इन्जुरी समयमा डानिल ओल्मोले गोल गर्दै स्पेनलाई २–१ ले जिताए । 

यस्तै खेलको इन्जुरी समयमा लिभानले रातो कार्ड पाएपछि जर्जिया १० खेलाडीमा समेटिएको थियो ।

विश्वकप छनोटमा स्पेनको यो पहिलो जित हो । पहिलो खेलमा स्पेनले बराबरी खेलेको थियो । यस जितसँगै समूह ुबीु को स्पेनले २ खेलमा ४ अंक जोडेको छ । जर्जिया अंक विहीन रहेको छ ।

यस समूहमा स्वीडेन ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्वीडेनले लगातार दुई खेलमा जित निकाल्ने क्रममा आइतबार राति कोसोभोलाई ३–० गोल अन्तरले हराएको थियो ।

लुडविग अगष्टिनसन, एलेक्जेन्डर इसक र सेबास्टियन लार्सनले १–१ गोल गरे । 

इङ्गल्याण्ड विजयी
समूह आईको खेलमा इङ्गल्याण्डले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा अल्बानियालाई २–० गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्डले लगातार दोस्रो जित निकालेको हो । ह्यारी केन र मासन माउन्टले एक एक गोल गरे ।

जितसँगै इङ्गल्याण्डले २ खेलमा ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । अल्बानियाको यो पहिलो हार हो । अल्बानियाले २ खेलमा ३ अंक जोडेको छ ।

यस समूहमा पोल्याण्ड ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पोल्याण्डले आइतबार राति एन्डोरालाई ३–० गोल अन्तरले हराएको थियो ।

यसै समूहको अर्को खेलमा हंगेरीले सान मारिनोलाई ३–० ले नै हरायो । 

जर्मनीको जित
समूह जे को खेलमा जर्मनीले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा रोमानियालाई १–० गोल अन्तरले पराजित गर्दै जर्मनीले साँघुरो जित निकालेको हो ।

जर्मनीको जितमा सर्जी गनाब्रीले निर्णायक गोल गरे । जितसँगै जर्मनी समूह जे को शीर्ष स्थानमा रहेको छ । जर्मनीले २ खेलमा ६ अंक जोडेको छ ।

अर्मेनिया पनि २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ  । आइतबार रातिको खेलमा अर्मेनियाले आइसल्याण्डलाई २–० गोल अन्तरले हराएको छ । 

अर्मेनियाका लागि तिग्रान र खोरेनले १–१ गोल गरे । त्यस्तै नर्थ मेसेडोनियाले लिच्स्टेनलाई ५–० गोल अन्तरले हरायो । एलेक्सान्दर त्राजकोभ्सीले २ गोल गरे । 

इटाली र स्वीट्जरल्याण्डको जित
समूह सीको खेलमा इटाली र स्वीट्जरल्याण्ड विजयी भएका छन् । आइतबार राति भएको खेलमा बुल्गेरियालाई २–० गोल अन्तरले पराजित गर्दै  इटालीले दोस्रो जित निकालेको छ ।

इटालीको जितमा आन्द्रे बेलोट्टी र मानुएल लोकाटेलीले एक एक गोल गरे । जितसँगै इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । बुल्गेरियाको लगातार दोस्रो हार हो । अंक विहीन बुल्गेरिया पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा स्वीट्जरल्याण्डले लिथुआनियालाई १–० गोल अन्तरले हराएको छ । जर्दान शाकिरीले निर्णायक गोल गरे । स्वीट्जरल्याण्ड २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रोमानिया २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ