arrow

यस्तो छ माधव नेपाललाई निलम्बन गरिएको पत्र विवरण

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
madhav-kumar-nepal-protest-2021.jpg

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।  स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमिक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको भन्दै एमालेले नेता नेपाल र रावललाई निलम्बन गरेको हो ।

निलम्बन पत्र

विषयः– निलम्बन गरिएको सम्बन्धमा ।
श्री माधव कुमार नेपाल,
सदस्य, दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,
नेपाल कम्युनिस्ट पार्टी (एमाले)।

तपाई, माधव कुमार नेपाललाई मिति २०७७।१२।०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईँले मिति २०७७।१२।१२ मा पार्टीमा पेस गर्नु भएको स्पष्टीकरणको जवाफमा देहाय बमोजिम देखियोः

१) तपाईँले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरी रहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहङ्कार र आत्म केन्द्रित कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो।

२) स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमिक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहङ्कार आत्मकेन्द्रीत र स्वार्थी प्रवृत्ति प्रस्ट रूपमा देखियो। आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुराउन तयार भएको आपराधिक मनोवृत्ति प्रस्ट रूपमा थप पुष्ट भएको।


३) आपराधिक क्रियाकलापहरू स्विकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरू प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईँले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो।

४) तपाईँले अहिले पनि पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलापहरू नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरूमा समेत निरन्तरता दिई रहने तर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिँजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको।

५) यस्तै गतिविधिहरू कायम रहेमा तपाईँलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दसौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ।

तपाईँलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बिचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बिचमै थप कारबाही गर्न सकिने ब्यहोरा समेत जानकारी गराइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ