arrow

नेकपा बदरविरुद्ध पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्च जाँदै  

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
ncp-oli-nepal-prachanda.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालतमा जाँदैछन् । 

उनी गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनका लागि मंगलबार बिहान ११ बजे अदालतमा निवेदन दर्ता गर्न जान लागेका हुन् । 

सर्वोच्चले २०७५ को जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई खारेज गर्दै जेठ २ गतेकै अवस्थामा रहेको एमाले र माओवादीलाई ब्युँताइदिएको थियो । 

सर्वोच्चको फैसलाअघि नेकपाका अध्यक्षमा प्रचण्ड र केपी शर्मा ओली थिए । तर फैसलापछि ओली नेकपा एमालेको र प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष छन् । 

पार्टीको नाम विवादबारे ऋषिराम कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्चले उनकै पार्टीलाई वैधानिकता दिँदा एमाले र माओवादी मिलेर बनेको (नेकपा) लाई अवैधानिक ठहर गरेको थियो । 

पार्टी टुक्राइदिएपछि कम्युनिष्ट पार्टीहरुमा असन्तुलन पैदा भएको छ भने स्थानीय तहदेखि बनेको नेकपाको गठबन्धन टुक्रिइरहेको छ । 

केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपामा विवाद चरम उत्कर्षमा पुगेको थियो । त्यसपछि ओली समूह एकातिर र प्रचण्ड–माधवकुमार नेपाल–झलनाथ खनाल समूह एकातिर भएको थियो । 

सर्वोच्चले एमाले र माओवादीलाई छुट्टाइदिएपछि पनि माओवादीले अहिलेसम्म ओलीलाई दिएको समर्थन फिर्ता लिएको छैन भने ओलीले माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाटै हटाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ