arrow

जापानद्वारा म्यानमारलाई दिने नयाँ सहायता रोक्ने घोषणा

logo
रासस–एएफपी
प्रकाशित २०७७ चैत १८ बुधबार
Japan-flag-1.jpg

टोकियो। जापानले म्यानमारमा प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गरी सेनाले सत्ता विद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । तर सेना र प्रहरीका कमान्डरहरूलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ ।

म्यानमारका लागि जापान सबैभन्दा ठुलो दातृ मुलुक हो । जापानका विदेश मन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यानमारलाई प्रस्ट सन्देश दिन खोजेको बताउनु भएको छ । 

संसद्मा मङ्गलवार सम्बोधन गर्दै विदेश मन्त्री मोटेगीले भने, “म्यानमारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र हो । अब नयाँ सहायता म्यानमारलाई दिइने छैन । हामीले प्रस्ट अडान राखेका छौं ।”

संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ता विद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ठ कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यावसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरू घोषणा गरिसकेका छन् । 

तर जापानको म्यानमारसँग बलियो आर्थिक तथा म्यानमारको सेनासँग रहेको लामो समदेखिको सम्बन्धका कारण जापानले केही नरम नीति लिएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार नयाँ सहायता मात्र रोकिने छन् । हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् रहनेछ ।

म्यानमारमा प्रजातन्त्रको पुनर्बहालीका लागि भएको प्रदर्शनमा हालसम्म ५०० भन्दा बढी व्यक्ति मारिइसकेका छन् । विश्वका शक्तिशाली मुलुकहरूले म्यानमारको सैन्य विद्रोहलाई लिएर निन्दा एवं भर्त्सना गरिरहेका छन् ।

जापानले म्यानमारको सैन्य सत्ता विद्रोहलाई लिएर आलोचना गर्नुका साथै लोकतन्त्रको पुनर्बहालीका लागि आह्वान गरेको छ । 

म्यानमारमा केही हजार जापानी नागरिक र सयौं जापानी कम्पनीहरू रहेको विश्वास गरिन्छ । म्यानमारमा हाल विदेशी लगानीका दृष्टिबाट जापान पाँचौं ठुलो लगानीकर्ता मुलुक हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ