- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव विनोद केसीले सडक मिचेर संरचना निर्माण गरेपछि ललितपुर महानगरपालिकाले कारबाही थालेको छ । सडक मिचेर संरचना निर्माण नगर्न महानगरपालिकाले लिखित आदेश दिँदासमेत अटेर गरेपछि उनलाई नगर प्रहरी पठाएर कारबाही गरिएको हो ।
राष्ट्रपति कार्यालयको सचिवका रूपमा समेत काम गरिसकेका केसीले खुलेयाम सडक मिचेर संरचना निर्माण गर्नुलाई महानगरका जिम्मेवार अधिकारीहरूले ‘शक्तिको तुजुक देखाउने प्रयास’ का रूपमा लिएका छन् ।
पूर्व सचिव केसीले महानगरको आदेश अटेर गरि संरचना निर्माण जारी राखेपछि मंगलबार नगर प्रहरी खटाएर काम रोक्न पुनः आदेश दिइएको थियो । नगर प्रहरी उनले संरचना निर्माण गरिरहेको फिल्डमै पुगेर काम रोक्न आदेश गरेर फर्किएको थियो ।
तर, त्यसलाई समेट अटेर गरी पूर्व सचिव केसीले बुधबारसमेत संरचना निर्माण जारी राखेपछि नगर प्रहरी फिल्डमा पुगेर निर्माणमा प्रयोग गरिएका सामग्रीहरू समेत जफत गरेर महानगरपालिकामा ल्याएको छ ।
पूर्व सचिव केसीले ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेल, बाँसघारी चोकमा अवैध रूपमा संरचना निर्माण अगाडि बढाएका हुन् । उनले त्यहाँ निर्माण गरिरहेको संरचना सपिङ सेन्टर रहेको स्थानीयहरू बताउँछन् ।
महानगरपालिकाबाट नक्सा पास नै नगरी संरचना निर्माण गरिरहेका कारण उनले के प्रयोजनका लागि उक्त संरचना निर्माण गर्न लागेका हुन् भन्ने कुरा प्रष्ट नभएको महानगरका अधिकारीहरू बताउँछन् ।
सडक मिचेर संरचना निर्माण गर्न थालेपछि स्थानीय वासिन्दाले तत्कालै २४ नम्बरका वडाध्यक्ष दिनेश कार्कीलाई खबर गरेका थिए । तर, वडा कार्यालयले यस बारेमा खासै चासो नदेखाएपछि महानगरपालिकामा उजुरी परेको थियो ।
उजुरी पर्नासाथ महानगरपालिकाले काम रोक्न आदेश गरेपनि उनले पूर्णरूपमा अटेर गरिरहेको जानकारी स्थानीयले महानगरलाई उपलब्ध गराइरहेका छन् । स्थानीयवासीले प्रत्येक दिनको गतिविधि भिडियो खिचेर नै महानगरपालिकाका सम्वन्धित अधिकारीलाई अपडेट दिइरहेका छन् ।
पूर्व सचिव केसी स्थानीयवासी रहेको र आफु नेपाल सरकारको सचिव तहमा रहेर काम गरिसकेकाले आफुलाई कसैले केही गर्न नसक्ने भन्दै स्थानीयहरूलाई धम्काउँदै आएको धापाखेल निवासी पूर्णबहादुर घर्ती बताउँछन् ।
‘उहाँले जहिले पनि आफुलाई कसैले छुन नसक्ने भन्दै स्थानीयवासीलाई धम्क्याउनुहुन्छ । विगतमा बाटो विस्तार अभियानमा पनि उहाँले नै सबैभन्दा धेरै अवरोध गर्नु भएको हो’, घर्ती भन्छन्– पूर्व सचिव भएकै कारण उहाँलाई नक्सा पाससमेत नगरी सडक मिचेर संरचना बनाउन दिइने हो भने भोलि सोही नजिर देखाएर अन्य व्यक्तिहरूले समेत महानगरपालिकालाई अवज्ञा गर्न थाले भने अवस्था के होला ? यस बारेमा महानगरपालिकाको उच्चस्तरले ध्यान दिनु जरूरी देखिन्छ ।’
स्थानीयवासीले यस बारेमा मेयर र उपमेयरले तत्कालै ध्यान दिनुपर्ने बताएका छन् ।
ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले यस विषयमा हाम्राकुरासँग कुरा गर्दै निवेदन परेको जानकारी दिइन् ।
उनले भनिन्, ‘हामीकहाँ निवेदन चाहिँ परेको छ । रोक्का गरिपाउँ भनेर निवेदन परेको छ । मेरो टेबलमा आइसकेको छैन त्यो । मेरो टेबलमा आइसकेको भए मैले के के भएको रहेछ भनेर यहाँलाई स्पष्ट भन्न सक्थेँ ।’