- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक जना आयुक्तले अनिवार्य अवकाश लिएसँगै अख्तियारमा दुई पद खाली भएको छ। बुधवार देखी अख्तियारकी आयुक्त डा. सावित्री गुरुङले ६ वर्ष सेवा अवधि पूरा गरी राजीनामा गरेकी छन्। सुशील कोइराला प्रधानमन्त्री भएको बेला २०७१ चैत १९ गते उनलाई अख्तियारको आयुक्तमा नियुक्ति गरिएको थियो।
गुरुङसँगै अख्तियारको आयुक्तमा नियुक्त गरिएका डा.गणेशराज जोशीले भने यसअघि नै राजीनामा गरेका छन्। सरकारले प्रेम राई लाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरे पछि अख्तियारका तत्कालीन कार्यवाहक अध्यक्ष डा. जोशीले राजीनामा गरेका थिए।
अख्तियारमा हाल राई प्रमुख आयुक्त र आयुक्तमा किशोर सिलवाल र जयबहादुर चन्द कार्यरत छन्। संविधानमा अख्तियारमा ५ जना पदाधिकारी रहने व्यवस्था छ। बाँकी दुई पदाधिकारी नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिस अनिवार्य चाहिन्छ तर तत्काल संवैधानिक परिषद्को बैठक बस्ने अवस्था छैन।
अख्तियारको आयुक्तमा नियुक्ति गर्न सरकार र प्रमुख राजनीतिक दलहरूले भागबन्डा गर्ने परम्परा छ। अख्तियारमा दुई वटा पद रिक्त हुँदा अख्तियारले गर्ने कार्यसम्पादनमा केही नै प्रभाव पर्ने अख्तियारका कर्मचारीहरू बताउँछन्।
लोकसेवा आयोग भने चैत ११ गते देखि नै पूर्ण रूपमा खाली भएको छ। आयोग खाली भए पछि आयोगले गर्ने कार्यसम्पादन प्रभावित भएको छ। कर्मचारीहरूको बढुवा तथा नयाँ भर्ना लिने प्रक्रिया बन्द भएको छ।
कर्मचारीहरूको बढुवा गर्न आयोगका अध्यक्षले बढुवा समितिको अध्यक्षता गर्नु पर्ने संविधानमा व्यवस्था छ। तर अध्यक्ष नै खाली भए पछि बैठक समितिको बैठक बस्न सकेको छैन।