arrow

भारतमा कोरोना खोपको तेस्रो चरणः पहिलो दिन ४५ वर्ष माथिका साढे १५ लाखले लगाए

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
corona-vaccine-inida-women.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित तीव्र रुपले बढिरहँदा कोरोनाविरुद्धको खोप पनि तीव्र गतिमा लगाइएको छ । 

भारतमा कोरोनाको तेस्रो चरणको खोपसमेत लगाउन थालिएको छ । बिहीबारदेखि थालिएको तेस्रो चरणको खोप अभियानमा ४५ वर्षदेखि माथिकालाई खोप लगाइएको छ । 

पहिलो दिनमै १५ लाख २८ हजार ६३९ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार राति ८ बजेसम्म भारतमा ६ करोड ७५ लाख भारतीयलाई खोप लगाइएको छ । 

जसमा ४५ वर्षदेखि माथिका ४ करोड १ लाख ६ हजार ३०४ जना पनि सामेल रहेका छन् । 

भारतमा कोरोना खोप लगाउन थालेको ७६ औं दिनसम्म १७ लाख ४७ हजार ९४ जनालाई खोप लगाइयो । जसमा १६ लाख २० हजार ७४६ जनालाई पहिलो डोज र १ लाख २६ हजार ३४८ लाई दोस्रो डोज दिइएको हो । 

भारतमा देशभर अहिलेसम्म ८८ लाख ४८ हजार ५५८ स्वास्थ्यकर्मीले पहिलो डोज लगाएका छन् । 

यसैबीच भारतमा संक्रमित ह्वात्तै बढेका छन् । बिहीबार ६ महिना यताकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । बिहीबार ८१ हजार ३९८ जना नयाँ संक्रमित थपिएका छन् । 

यो आँकडा गत अक्टोबर १ पछिको सबैभन्दा बढी हो । अक्टोबर १ मा ८१ हजार ७८५ जना संक्रमित थपिएका थिए । योसँगै कुल संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ । 

भारतमा सक्रिय संक्रमित ६ लाख १० हजार ९२५ पुगिसकेको छ । बिहीबार ४६८ जनाको ज्यान गएको छ । लगातार दोस्रो दिन ४५० भन्दा बढीको ज्यान गएको हो । अहिलेसम्म १ लाख ६३ हजार ४२८ को ज्यान गइसकेको छ । 

बिहीबार ५० हजार ३८४ जना संक्रमणमुक्त भएका छन् । १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । बिहीबार एकै दिन महाराष्ट्रमा ४३ हजार १८३ जना संक्रमित थपिएका छन् । एकैदिन २४९ जनाले ज्यान गुमाएका छन् । 



लोकप्रिय समाचार
नयाँ