arrow

बस्दै माओवादी केन्द्रको स्थायी कमिटी, ओलीलाई दिएको समर्थन होला फिर्ता ?

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । नेता वर्षमान पुनका अनुसार आइतबारको बैठकमा नयाँ सत्ता समीकरणमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुनेछ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि जाने निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रले भने अझै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता भएको छैन । 

यस विषयमा आइतबारको बैठकमा छलफल हुने नेता पुनले बताए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा पनि छलफल हुने बताए । 

उनले अझै पनि समर्थन फिर्ता आइतबारै लिइन्छ भन्ने बारेमा भने स्पष्ट जवाफ नेपाली नेटवर्कसँगको कुराकानीमा दिएनन् । उनले फिर्ताको सम्भावना रहेको बताए । 

प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता लिएको एक मिनेट पनि आफू पदमा नबस्ने भनी शनिबारै भनिसकेका छन् ।  ओलीले संसद विघटन गरेपछि नयाँ सत्ता समीकरणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष मिलेर ओलीलाई हटाउनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सत्ता समीकरणका लागि पहल गरिरहेका थिए । 

तर सर्वोच्च अदालतले एमाले र माओवादीको एकतापछि बनेको (नेकपा) लाई अवैधानिक ठहर गरी दुई पार्टीलाई ब्युँताइदिएपछि भने एकीकरणमा समस्या आएको थियो । 

सर्वोच्चले गत फागुन २३ गते एमाले र माओवादी छुट्टाइदिए पनि माओवादीले भने अहिलेसम्म ओलीलाई दिएको समर्थन फिर्ता नलिँदा पनि प्रश्न उठ्दै आएको छ । 

नेता पुनका अनुसार ओलीले चुनौती मात्र दिएको र राजीनामा दिन्छु भन्ने बहाना नयाँ ताजा जनादेशका लागि जान फेरि संसद विघटन गर्ने चाल हुन सक्ने पनि देखिएको छ । 

पुनले सोझोपनले देशलाई निकास दिन्छु भनेर ओलीले राजीनामा दिनेमा शंका जनाएका छन् । उनले राजनीतिमा इमानदारी देखाएको भए ओलीले अहिलेसम्म नैतिकताका आधारमा राजीनामा दिइसक्नु पर्नेमा नदिएको भन्दै ओलीको नैतिकतामाथि पनि प्रश्न उठाएका छन् । 

शुक्रबार राति बसेको कांग्रेसको बैठकले ओलीको राजीनामा माग्दै नयाँ सत्ता समीकरणका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा अगाडि बढ्ने निर्णय गरेको थियो । 

शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने उत्साही देखिएका थिए । उनले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गर्ने भएपछि खुशी व्यक्त गर्दै अब आफूहरुको भूमिका पनि महत्वपूर्ण भएको कपिलवस्तुमा बताएका थिए । 

आफूलाई काठमाडौंमा पुग्नुपर्ने आवश्यकता देखिएको भन्दै उनी हतारिएर समेत हिँडेका थिए । यसअर्थमा प्रचण्डले लामो समयदेखि खोजेको जवाफ कांग्रेसबाट पाएका छन् । 

तर अब समीकरण कसरी अगाडि बढ्छ भन्नेबारे यकिन भएको छैन । 

अर्कातिर राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा ओलीले आफ्नो नियत स्पष्ट भएको भन्दै संसद विघटन गलत नभएको जिकिर गर्दै ताजा जनादेशका लागि फेरि पनि संसद विघटन गर्न सक्ने संकेत गरेका थिए । 

फेरि पनि मध्यावधि निर्वाचनतर्फ नै उनको जोड हो कि भन्ने आशंका यद्यपि छ । 

यदि माओवादीले आइतबार ओलीलाई दिएको समर्थन लिए नेपाली राजनीतिले नयाँ यात्रा भने तय गर्नेछ । 

संविधानअनुसार ओलीले एक महिनाभित्र सरकारलाई बहुमतको समर्थन प्राप्त गर्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ