arrow

महन्थ र रामचन्द्रबीच भेटवार्ता : प्रधानमन्त्रीमा देउवा बाहेक अर्को ब्यक्ति प्रस्ताव हुनसक्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत २२ आइतबार
ramchandar-mahanta.jpg

काठमाडौं। नयाँ सरकार बनाउन विभिन्न अभ्यास भइरहेको बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। पौडेल आइतबार विहान ठाकुर निवास सानोठिमी पुगेका थिए । ठाकुर निकट जसपाका नेता डा.सुरेन्द्र झाले आइतबार विहान पौडेल र ठाकुरबीच भेटवार्ता भएको पुष्टि गरे।

उनका अनुसार कुराकानीमा पछिल्लो राजनीतिक घटनाक्रम बारेमा गम्भिर छलफल भएको थियो। स्रोतका अनुसार भेटवार्तामा पौडेलले भने,‘नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने निर्णय गरिसकेको छ । अब नयाँ सरकार बन्ने स्थिति बनेको छ।’

पौडेलले  शेरबहादुर देउवा बाहेक अर्को व्यक्तिलाई पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने सम्भावना रहेको बताएका थिए । डा.झाले भने,‘पौडेलजीले देउवा बाहेक अर्को व्यक्तिलाई पनि कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने सम्भावना रहको बताउनुभयो तर अर्को व्यक्ति भनेको को हो । कांग्रेस भित्रबाट हो या कांग्रेस बाहिरबाट हो, त्यो खुलाउनु भएन।’

जसपाका अर्का एक पदाधिकारीले भने, ‘पौडेल जीले अर्को व्यक्तिलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव गर्न सक्छु भन्नुको भित्री उद्देश्य ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न खोजेको जस्तो देखियो तर उहाँ खुल्न चाहनु भएन ।’

स्रोतका अनुसार भेटमा ठाकुरले भने,‘नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गर्नु स्वाभाविक हो तर अन्य दलहरुसँग छलफल नै नगरी आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । दलहरुसँग छलफल नै नगरी आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गर्नु भनेको अर्घेल्याइँ गर्न खोजेको देखियो ।’

ठाकुरको यस्तो प्रस्ताव आएपछि पौडेलले देउवा बाहेक अर्को व्यक्तिलाई पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्न सक्ने धारणा राखेका थिए ।  स्रोतका अनुसार पौडेलले भने, देउवाको भित्री चाहना आफैं प्रधानमन्त्री हुने देखिन्छ तर विभिन्न विकल्पहरु बारेमा पनि हामी छलफल गर्छौ ।’

पौडेलसँगको कुराकानीमा ठाकुरले पार्टीले राखेका माग, मुद्दा सम्बोधन भएमा त्यस्तो सरकारलाई आफूहरुले समर्थन गर्ने बताए । डा.झाले भने,‘हाम्रा माग मुद्दालाई जसले सम्बोधन गर्छ, हामी त्यसैलाई सम्बोधन गर्छौं । यसमा हामी प्रष्ट छौं ।’

नयाँ सरकार निर्माणमा जसपासँग दुबै पक्षले कुराकानी र छलफल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही समय देखि जसपासँग निरन्तर छलफल र संवाद गरिरहेका छन् ।  प्रधानमन्त्रीले जसपाले राखेका माग पूरा गर्न एउटा कार्य दल समेत गठन गरेका छन् ।

यसैगरी नेपाली कांग्रेस तथा माओवादी केन्द्रले पनि जसपासँग छलफल र संवाद अघि बढाएको छ । कसलाई समर्थन गर्ने भन्ने विषयमा जसपा अहिले दुई धारमा बाडिएको छ ।

एउटा धारको नेतृत्व ठाकुरले गरेका छन भने अर्को धारको नेतृत्व उपेन्द्र  यादवले गरेका छन् । ठाकुर प्रधानमन्त्री ओलीसँग निकट देखिएका छन् । यस्तो बेला ठाकुरलाई भेट्न नेपाली कांग्रेसका नेता पौडेल ठाकुरकै निवासमा पुगेका थिए ।

यता, नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पहिले सांसद संख्यामा सुनिश्चितता भएपछि मात्र प्रधानमन्त्रीका विषयमा कुरा हुनसक्ने बताए । उनले भने, ‘हामी जसपा र माओवादी केन्द्रसँग कुराकानीकै क्रममा छौं, प्रधानमन्त्रीका विषयमा त्यसपछि छलफल हुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ