arrow

भारतमा पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना संक्रमित

logo
प्रकाशित २०७७ चैत २३ सोमबार
corona-india-mask.jpg

काठमाडौं । भारतमा पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

तर भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै आइतबार (चैत २२ गते, ४ अप्रिल २०२१ ) मा १ लाख ३ हजार ७९४ जना संक्रमित एकैदिन थपिएका छन् । 

यसले भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार तेस्रो दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

तर कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

शुक्रबार ८९ हजार १९ जना संक्रमित थपिएकामा शनिबार त्यो संख्या बढेर ९२ हजार ९९४ पुगेको थियो । 

योसँगै कुल संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९२१ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित ७ लाख ३७ हजार ८७० पुगिसकेको छ । मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । शुक्रबार ७१३ जनाको ज्यान गएकोमा शनिबार ५१४ जनाको ज्यान गएको छ । आइतबार ४७७ जनाको ज्यान गएको छ । गत बिहीबार ४६८ जनाको ज्यान गएको थियो । 

लगातार पाँचौं दिन ४५० भन्दा बढीको ज्यान गएको हो । अहिलेसम्म १ लाख ६५ हजार १३२ को ज्यान गइसकेको छ । 

आइतबार ५२ हजार ८४० जना संक्रमणमुक्त भएका छन् । १ करोड १६ लाख ७९ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । आइतबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ हजार ७४ जना संक्रमित भएका छन् । शनिबार एकैदिन ४९ हजार ४४७ जना संक्रमित थपिएका थिए । आइतबार २२२ जनाको ज्यान गएको छ । शनिबार २७७ जनाको ज्यान गएको थियो । 

नेपालसँग सीमा जोडिएको बिहारमा आइतबार ८६४ जना संक्रमित थपिएका छन् । शनिबार ८३६ जना संक्रमित थपिएका थिए । शुक्रबार ६६२ जना संक्रमित थपिएका थिए ।  

नियन्त्रणको नजिक पुगेको बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ३ हजार ५६० पुगेका छन् । 



लोकप्रिय समाचार
नयाँ