arrow

महाराष्ट्रमा कडा लकडाउन

logo
प्रकाशित २०७७ चैत २३ सोमबार
corona-india-patient.jpg

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा कडा लकडाउन लागु गरिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढिरहँदा महाराष्ट्रमा सोमवारदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो । अब महाराष्ट्रमा रातिको समयमा कर्फ्यु लगाइने छ भने सप्ताहन्तका बेला राज्यमा पूर्ण रुपमा लकडाउन लागु हुनेछ । 

आइतबार मात्रै भारतमा पहिलो पटक एकैदिन एक लाख ३ हजार ७९४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा यो अहिलेसम्मकै बढी हो । 

यसअघि गत वर्षको सेप्टेम्बरमा भारतमा सबैभन्दा बढी ९६ हजार ७८७ जना संक्रमित भेटिएका थिए ।  

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । आइतबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ हजार ७४ जना संक्रमित भएका छन् । शनिबार एकैदिन ४९ हजार ४४७ जना संक्रमित थपिएका थिए । आइतबार २२२ जनाको ज्यान गएको छ । शनिबार २७७ जनाको ज्यान गएको थियो । 
महाराष्ट्रमा संक्रमण बढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संक्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेका छन् ।

महाराष्ट्रमा संक्रमण बढ्नुको कारणबारे शुक्रबारको टेलिभिजन सम्बोधनका क्रममा मुख्यमन्त्री उद्धव ठाकरेले केही मानिसहरुले सुरक्षाका उपायहरु नअपनाएको र मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही संक्रमित भएको बताएका थिए ।

महाराष्ट्रको मुम्बईबाट करिब १६० किलोमिटर पूर्वमा रहेको पुणे सहरमा कर्फ्यु लागु गरिसकिएको छ । त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएको छ । 

सोमबारबाट महाराष्ट्रमा स्थानीय समयअनुसार रातको ८ बजेदेखि बिहानको ७ बजेसम्म कर्फ्यु लागु हुनेछ ।

सप्ताहन्तमा (शुक्रबार राति ८ बजेदेखि पूर्णरुपमा लकडाउन लागु भई सोमबार बिहान ७ बजेसम्म)  कायम रहने छ।

सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ।

कर्मचारीलाई सकेसम्म घरबाटै काम गराउन भनिएको छ। यी प्रावधान अप्रिल ३० तारिखसम्म लागु हुने महाराष्ट्र सरकारले जनाएको छ।

ट्याक्सी र निजी गाडीमा समेत ५० प्रतिशत भन्दा बढी यात्राी बस्न पाउने छैनन् । धार्मिक स्थलमा पूजारी र कर्मचारीलाई मात्र अनुमति दिइएको छ । 

महाराष्ट्रका अस्पतालका आइसीयू भरिएका छन् । स्थिति भयावह बनेको भन्दै सचेत गराइएको छ । 
 



लोकप्रिय समाचार
नयाँ