arrow

भारतमा कोरोनाका सक्रिय संक्रमित बढेर सात लाख ८४ हजार पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २४ मंगलबार
india-election-tamilnadu.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित बढेर ७ लाख ८४ हजार पुगेका छन् । आइतबारको तुलनामा थपिएका नयाँ संक्रमितमा सोमबार ६ हजारले कमी आए पनि निको हुनेको संख्यामा पनि कमी आउँदा सक्रि संक्रमित ह्वात्तै बढेका छन् । 

आइतबार पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

तर भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै आइतबार (चैत २२ गते, ४ अप्रिल २०२१) मा १ लाख ३ हजार ७९४ जना संक्रमित एकैदिन थपिएका थिए । 

सोमबार भने ९६ हजार ५६३ जना संक्रमित थपिएका छन् । तर कोरोनामुक्त हुनेको संख्या सोमबार मात्रै ५० हजार ९५ रहेपछि सक्रिय संक्रमित भने आकासिएका हुन् । 

यसले भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार चौथो दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

तर कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

योसँगै कुल संक्रमितको संख्या १ करोड २६ लाख ८४ हजार ४८४ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित ७ लाख ३७ हजार ८७० बाट बढेर ७ लाख ८४ हजार पुगेका हुन् । 

मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । शुक्रबार ७१३ जनाको ज्यान गएकोमा शनिबार ५१४ जनाको ज्यान गएको छ । आइतबार ४७७ जनाको ज्यान गएको छ । सोमबार ४४५ जनाको ज्यान गएको छ । गत बिहीबार ४६८ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ६५ हजार ५७७ को ज्यान गइसकेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । आइतबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ हजार ७४ जना संक्रमित भएका छन् । सोमबार भने यो संख्या घटेर ४७ हजार २८८ रहेको छ । शनिबार एकैदिन ४९ हजार ४४७ जना संक्रमित थपिएका थिए । सोमबार १५५ जनाको ज्यान गएको छ । आइतबार २२२ जनाको ज्यान गएको छ । शनिबार २७७ जनाको ज्यान गएको थियो । 

नेपालसँग सीमा जोडिएको बिहारमा सोमबार ९३५ जना संक्रमित थपिएका छन् । आइतबार ८६४ जना संक्रमित थपिएका थिए । शनिबार ८३६ जना संक्रमित थपिएका थिए । शुक्रबार ६६२ जना संक्रमित थपिएका थिए ।  

नियन्त्रणको नजिक पुगेको बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ४ हजार १४३ पुगेका छन् । 



लोकप्रिय समाचार
नयाँ