arrow

'बैशाखभित्रै मुलुकमा नयाँ सरकार, देउवा प्रधानमन्त्री'

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
mahendra-ray.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने,‘ढुक्क हुनुहोस, नयाँ वर्षमा मुलुकले नयाँ सरकार पाउँछ, अहिले त्यसको लागि सकारात्मक वार्ता भैरहेको छ ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारको विकल्प खोजिने बताउँदै आगामी नयाँ वर्ष अर्थात बैशाखभित्रै मुलुकले नयाँ सरकार पाउने विश्वास दिलाएका हुन् । उनले भने,‘हामी वर्तमान सरकारको विपक्षमा छौं । यो सरकार १०० % परिवर्तन हुन्छ, नयाँ वर्षमा नयाँ सरकार मुलुकले पाउँछ ।’

उनले अहिले सरकारको विकल्प खोज्ने विषयमा आफ्नो पार्टी स्पष्ट रहेको सुनाए । उनले भने,‘हामी स्पष्ट छौं, नेकपा (माओवादी केन्द्र) पनि स्पष्ट छ, तर जसपामा अलिक समस्या देखिएको छ ।’ उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तीन दिलले ढिलाई गर्न नहुनेपनि सुनाए । उनले भने,‘जति दिन ओली सरकार रहन्छ, त्यति दिन नै संघीयता, संविधानका दफाहरुमाथि प्रहार भैरहन्छ । अहिले कांग्रेस, माओवादी केन्द्र र जसपा सरकार फाल्ने विषयमा मिल्ने अवस्थामा छौं, चाँडै सहमति गरौं ।’

नेता यादवले आफ्नो पार्टी अहिलेपनि महाधिवेशनमा केन्द्रित रहेको सुनाउँदै सभापति शेरबहादुर देउवाले सरकार गठनमा त्यति चासो नदेखाएको हुनसक्ने तर्क पेश गरे । उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, मुलुकको शान्ति-सुरक्षा निष्क्रिय भएको लगायत दाबी गरे । उनले वर्तमान प्रधानमन्त्री ओली बालुवाटारभन्दा अन्त कतै नगएको पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीले बालुवाटारबाट हालै गरेका विभिन्न विकास आयोजनाको शिल्यान्यासलाई नाटकको संज्ञा पनि दिए ।

यादवले मेलम्चीको पानी काठमाडौं आएकोमा खुशी व्यक्त गर्दै उनले किसुनजीको सपना साकार भएको पनि उल्लेख गरे । उनले भने,‘मेलम्चीको पानी काठमाडौं आयो, यो खुशीको कुरा हो । किसुनजीको सपना साकार भयो । तर, प्रधानमन्त्रीले किसुनजीको नाम कतै पनि लिनुभएन । उहाँले किसुनजीको नाम उच्चारण पनि गर्नुभएन् ।’

उनले ओली नेतृत्वको सरकारलाई प्रतिगमनकारी भन्दै तत्काल सरकारलाई विदाई गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले सबैको साझा दुश्मनको रुपमा रहेको ओली सरकार हो । यो सरकारलाई विदाई गर्न ढिलाई गर्नुहुँदैन्, जति ढिलाई गर्यो त्यति पछुताउनुपर्छ ।’ फरक प्रसँगमा उनले बालुवाटार र बुढानिलकण्ठलाई एउटै दुरीमा राखेर हेर्न नहुनेपनि धारणा राखे । ओली सरकारको विकल्प खोज्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच वार्ता सकारात्मक भएको भन्दै छिट्टै अविश्वासको प्रस्ताव दर्ता हुने पनि उनको दाबी छ ।

जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता वृषेशचन्द्र लालले आफ्नो पार्टीको एजेण्डा सरकार परिवर्तन वा सरकारलाई निरन्तरता दिनेभन्दापनि मुद्दा सम्बोधन नै मुख्य रहेको स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो एजेण्डा स्पष्ट छ, हामी सरकार पविर्तन गर्ने वा नयाँ सरकार बनाउने भन्ने होईन, हामीलाई हाम्रो मुद्दा सम्बोधन गर्नुपर्छ ।’

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, झुठा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाई हुनुपर्ने पनि सुनाए । उनले भने,‘हाम्रो संघर्ष भनेको यो सरकारलाई परिवर्तन गर्नमात्रै होईन् ।’

उनले आफूहरुले माग पूरा गराउनको लागि राज्यसँग वार्ता गर्नुपर्ने भएकोले सोहीअनुसार अहिले सरकारसँग वार्ता भैरहेको पनि विश्वास दिलाए । उनले भने,‘हाम्रा वार्ताकारहरु उत्साही हुनुहुन्छ । अहिले हामी माग पूरा हुनेमा विश्वास गरिराखेका छौं ।’ उनले आफूहरु कसैलाई पनि समर्थन गर्ने पक्षमा नरहेको भन्दै तटस्थ रहेको बताए ।

उनले आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि कुरा गरिराखेको सुनाए । उनले भने,‘हाम्रो माग राष्ट्रिय मुद्दा हो । ठूला दलहरुले यी माग पूरा गर्ने सवालमा सार्वजनिक रुपमा आफ्नो धारणा राख्नुभएको छैन् । तर, सरकार बनाउनको लागि संख्या पुर्याउने खेलमा हामी यसमा सहमत छैनौं ।’

वैकल्पिक सरकार किन बनेन ? भनेर आफूहरुलाई नसोध्नपनि उनले आग्रह गरे । उनले भने,‘यसमा हामीलाई दोष नदिउँ । हामी त प्रष्ट छौं । हाम्रो माग पूरा हुनुपर्छ । समर्थन फिर्ता नलिनेहरुलाई पनि म भन्न चाहन्छु कि गठबन्धनको आधार के हुन्छ ? कुरा त प्रष्ट आउनुपर्यो नि । कुर्सी बचाउने वा सरकार बदल्ने हाम्रो प्राथमिकता होईन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ