arrow

चर्चामा सरकार परिवर्तन

सरकारको नक्सा बदल्न ३ बजे तीन दलको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
Deuba-prachanda.jpeg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्नका लागि शुक्रबार तीन दलका शीर्ष नेताहरुबीच गहन छलफल हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विवास बुढानीलकण्ठमा तीन दलका नेताहरुबीच निर्णायक छलफल हुने बताइएको छ । 

कांग्रेस पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिए । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच छलफल हुनेछ । 

देशको समसामयिक परिस्थितिबारे साझा धारणा बनाउन छलफल आह्वान गरिएको बताइए पनि अहिले सत्ता परिवर्तन नै महत्वपूर्ण कडीका रुपमा देखिएको छ । 

तीनै दलले ओली सरकारले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको चर्को विरोध गर्दै सडकमा उत्रिएका थिए । तर सर्वोच्च अदालतले संसद विघटन विरुद्धको मुद्दामा गत फागुन ११ गते फैसला गर्दै संसद ब्युँताइदिएको थियो । 

फागुन २३ गते एमाले र माओवादीको एकताबाट बनेको (नेकपा) पनि सर्वोच्चले अवैधानिक भन्दै एमाले र माओवादीलाई पूर्ववत अवस्थामा ब्युँताइदिएपछि दलहरुबीच समस्या थपिएको छ । 

पछिल्लो समय ओली सरकारलाई निरन्तरता दिनु हुन्न भनिए पनि तीन दलको एकता बिना ओली सरकार हट्ने सम्भावना छैन । माओवादीले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । 

कांग्रेसले हालैमात्र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो । गत आइतबार उक्त निर्णय भएको भए पनि अहिलेसम्म दलहरुसँग छलफल भने गरेको छैन । 

कांग्रेसले निर्णय गरेपछि पनि सुस्ताएपछि केही आशंका पैदा भएको भए पनि समय आएपछि यसले गति पाउने नेताहरुले बताएका थिए । 

त्यस्तै जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले ओलीसँगै मिलेर सरकार बनाउने लक्ष्य राखेको छ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने असंवैधानिक ओली सरकारलाई कुनै पनि हालतमा फाल्नुपर्ने धारणा राख्दै आएको छ । 

जसपाको यो दुई धारले गर्दा अझै पनि ओली सरकारलाई फाल्न मुस्किल भएको बताइन्छ । ठाकुरले भने नगदमै कारोबार गर्ने र संविधान संशोधनदेखिका माग ओलीले नै पूरा गर्न सक्ने आँकलन गरेका छन् । 

तर संविधान संशोधन गर्न दुई तिहाईको समर्थन चाहिने भएकाले कुनै पनि सरकारले यो माग पूरा गर्ने देखिँदैन । 

ठाकुर आफू प्रधानमन्त्री बन्न लालायित छन् । उनलाई कुनै समय ओलीले प्रधानमन्त्रीको ‘अफर’ गरेको चर्चा छ । उनी आफैले भने मिडियामा केही बताएका छैनन् । 

तर उनको अन्तर्वार्तामा इच्छा भने तीव्र छ । आफ्नै पार्टीमा पनि आफूसँग बहुमत भएको दाबी उनको छ । पार्टीलाई एकढिक्का बनाएर जाने सोचमा भने उनको भनाई रहेको पाइँदैन । 

यही विषयलाई ओलीले बुझेरै मज्जासँग ठाकुरको सोझोपनको फाइदा उठाएको जसपाको अर्को पक्षका नेताहरुको तर्क छ । 

अन्योलबीच ओलीको असंवैधानिक कदम र बेथितिको अन्त्य गर्दै नयाँ सरकार जरुरी भइसकेको कांग्रेस नेताहरुको भनाइ रहेको छ । 

मिडियामा कांग्रेस नेता एनपी साउदले सत्ता समीकरणका लागि पार्टी छलफलमा जुटेको बताउँदै अब ओलीलाई फाल्ने समय आएको बताएका छन् । 

उनले एमाले बाहेकका पार्टीबीच सहकार्य गरेर वैकल्पिक सरकार गठनबारे कांग्रेस छलफलमा जुटेको जानकारी दिएका हुन् । उनले देशमा संकट निम्याउने वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बेला आएको उल्लेख गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ