arrow

तीन दलको बैठक विना निष्कर्ष टुङ्गियो

देउवाले पार्टीको निर्णय सुनाए, सरकार ढाल्ने खेलमा जसपाले सहमति जनाएन

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
three-party.jpg

काठमाडौँ। सरकार ढाल्ने खेलमा जनता समाजवादी पार्टीले सहमति नजनाए पछि शुक्रवार अपराह्न सकिएको प्रमुख तीन दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक विना निष्कर्ष टुङ्गिएको छ। नयाँ सरकार निर्माणको विषयमा समीकरण बनाउन नेपाली काँग्रेसले प्रमुख तीन दलको बैठक बोलाएको थियो। बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको  सरकार ढालेर आफ्नै नेतृत्वमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा सम्मिलित नयाँ सरकार बनाउने काँग्रेस केन्द्रीय समितिले गरेको निर्णय सुनाएका थिए।

देउवाले निर्णय सुनाए पछि काँग्रेसका निर्णयसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकारात्मक प्रतिक्रिया दिएका थिए।  तर जसपाका अध्यक्ष महन्थ ठाकुरले भने सरकार ढाल्ने खेलमा सहमति जनाएनन्। स्रोतका अनुसार घुमाउरो किसिमबाट उनले ओली सरकारलाई समर्थन गरे। पार्टीले उठाएको माग पूरा गर्न सरकारले प्रक्रिया सुरु गरेको बताउँदै अहिले आफूहरू आफ्नो माग पूरा गराउने विषयमा मात्र चासो राखेको बताए। स्रोतका अनुसार उनले भने,‘मुद्दा फिर्ता गर्न सरकारले प्रक्रिया सुरु गरेको छ।

अहिले हाम्रो चासो र चिन्ता  हाम्रो मुद्दा कार्यान्वयन गर्ने विषयमा मात्र केन्द्रित भएको छ।’ओली सरकार ढाल्ने र नयाँ सरकार बनाउने विषयमा जसपा भित्र छलफल नै नभएको बताउँदै यस विषयमा पार्टीमा छलफल गरेर मात्र धारणा दिने ठाकुरले बताएका थिए । ठाकुरको प्रतिक्रिया पछि शुक्रवार बसेको तीन दलको बैठक विना निष्कर्ष टुङ्गियो।

तीन दलको बैठकमा कुनै सहमति नभएको बैठकमा सहभागी जसपाका नेता राजेन्द्र महतोले बताए। ‘अहिले हाम्रो चासो हाम्रो कसरी सम्बोधन गराउने विषयमा मात्र केन्द्रित छ। यस बेला ओली सरकार ढाल्ने विषयमा हामी लागेका छैनौ’महतोले भने,‘त्यसैले आज (शु्क्रबार)बसेको तीन दलको बैठकमा कुनै सहमति भएन।’ 
पार्टीभित्र छलफल गरे पछि मात्र पार्टीले आफ्नो धारणा राख्ने महतोले जनाए।

तीन दलको बैठकमा सहभागी हुनु अघि जसपाका ६ जना शीर्ष नेताहरू डा.बाबुराम भट्टराई, ठाकुर, उपेन्द्र यादव, अशोक राई, महतो र राजेन्द्र श्रेष्ठले आन्तरिक छलफल गरेका थिए। बैठक बस्नु अघि काँग्रेसका शीर्ष नेताहरूबिच पनि अनौपचारिक छलफल भएको थियो । केही दिन मात्र काँग्रेसका केन्द्रीय समितिले ओली सरकार ढालेर काँग्रेसका नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो। आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन काँग्रेसले पहल गर्ने निर्णय पनि बैठकले गरेको थियो।

उक्त बैठक पछि काँग्रेस सभापति देउवाले शुक्रवार प्रमुख तीन प्रतिपक्षी दल काँग्रेस,माओवादी केन्द्र र जसपाको संयुक्त बैठक बोलाएका थिए। सो बैठकमा तीन वटै पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । पछिल्लो समय जसपाका अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग निकटता बढाउँदै गएका छन्। त्यसैले उनले सरकार ढाल्न काँग्रेसले राखेको  प्रस्तावसँग सहमति नजनाएको जसपाका नेताहरू बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ