- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेस प्रभावशाली नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरी जनताको विश्वास माथि ओली सरकारले लात हानेको बताएका छन्। शनिवार श्री भगवती क्लबको आयोजनामा काठमाडौँको टोखामा भएको शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निर्माण गरिएको पोखरीको उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न नहुने भन्दै तत्काल ओलीको विकल्प खोज्नुपर्ने बताएका हुन्।
उनले भने, ,‘प्रधानमन्त्री ओलीले संविधान मिचेर आफू अनैतिक भएको पुष्टि गरिसक्नुभयो। अन्तर्राष्ट्रिय प्रचलन, संवैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि अयोग्य भइसके। अब ओलीको विकल्प तत्काल दिनुपर्छ।’
साथै नेता सिंहले राजनीति ठिक भएका देशको सामाजिक, आर्थिक लगायत सम्पूर्ण क्षेत्रको विकास हुने भन्दै राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको पनि बताए। तर ओलीमा अलिकति पनि नैतिकता नभएको भन्दै प्रधानमन्त्रीमा बसिरहन दिए आफूहरूको पनि नैतिकतामा प्रश्न उठ्ने बताए।
विगतका घटनाले यो सरकार भ्रष्टाचारमा लिप्त भएको पुष्टि भइसकेको भन्दै नेता सिंहले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरी रहेको बताए। नेता सिंहले सरकार परिवर्तन गर्न काँग्रेस एक्लैको बहुमत नपुग्ने हुँदा ढिला भएको बताउँदै आफूहरूलाई जनताले प्रतिपक्षमा बस्ने अधिकार दिए पनि कम्युनिस्टहरूले देश सञ्चालन गर्न नसकेका कारण सरकार निर्माणमा अग्रसर भएको प्रस्ट पारे।
देश बचाउन, लोकतान्त्रिक मूल्य मान्यता बचाउनको लागी भए पनि अहिले काँग्रेसले प्रभावकारी भूमिका खेल्ने अवस्था आएकाले आफूहरू त्यसमा लागी परेको उनको भनाई छ।