arrow

काँग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा

logo
रासस,
प्रकाशित २०७७ चैत २८ शनिबार
nepali-congress-flag.jpg_1618043342.jpeg

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसभित्र कुनै विवाद नभएको बताएका छन्। नेपाली काँग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारको विकल्प खोज्नेबारे काँग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन्।

“काँग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरूको एकमत रहेको छ, काँग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ”, उनले भने। बाहिर सञ्चारमाध्यममा आएजस्तो काँग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ।

काँग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माले नेपाली काँग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै काँग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताए। काँग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरूप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ। उनले काँग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले निभाउन सके मात्र काँग्रेस रूपान्तरण हुने बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले काँग्रेसलाई मजबुत र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जीत हासिल गर्न सकिने बताए। विगतका अनुभवलाई विचार गरेर नयाँ पिँढीलाई काँग्रेसबारे प्रशिक्षण गर्नुपर्ने उनको भनाइ थियो।

काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरे मात्र काँग्रेस बलियो हुने बताए। पूर्व सहायक मन्त्री डा रामचन्द्र अधिकारीले काँग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

सम्पर्क समितिका अध्यक्ष प्रदीप अधिकारीले लमजुङमा काँग्रेसको सङ्गठन बलियो बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताए।



नयाँ