arrow

कोरोना संक्रमण बढ्दै : सीमा नाकामा बेवास्ता, सरकारसँग छैन तथ्यांक

भारतसँग जोडिएका मात्रै ३३ सीमा नाका हाल खुला

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७७ चैत २९ आइतबार
Corona-nepal-map-hk.jpg

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका खुल्ला नाकामा हुने आवतजावतमा बेवास्ता गरिँदै आइएको छ । 

हाल मुलुकका ३५ सीमा नाका खुला छन् । ती मध्ये भारततर्फका मात्रै ३३ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । यतिसम्मकी दैनिक रूपमा के कति संख्यामा ति नाकाहरुबाट मानिसहरु आवतजावत गरिरहेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । 

गृह मन्त्रालय अन्तर्गतको सीमा तथा अध्यागमन प्रशासन शाखाका प्रमुख परमानन्द घिमिरेले भारतसँग जोडिएका मात्रै ३३ सीमा नाका हाल खुला अवस्थामा रहेको जानकारी दिए । ती विभिन्न नाकाहरु हुँदै नेपाल प्रवेश गर्नेहरुलाई कोरोना संक्रमणका कारण ज्वरो नाप्ने र सोधपुछ गर्दै प्रवेश दिने गरिएको उनले बताए । 

‘विभिन्न नाका हुँदै आएकाहरुलाई ज्वरो नाप्ने र उनीहरुका बारे सोधपुछ गर्ने गरिएको छ, सामान्य सोधपुछ गरेर नाकाबाट प्रवेश दिइन्छ ।’ सीमा तथा अध्यागमन प्रशासन शाखाका प्रमुख घिमिरेले भने । 

सरकारले कोरोना संक्रमणको गति सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रीपरिषद् बैठकमार्फत सुरुमा १४ वटा नाका खुला गरेको थियो । पछि थप १६ नाका खुला गर्दै ३० वटा नाका खुला गरेको थियो । त्यसबाहेक दार्चुलाका झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको चार नाकासमेत खुला अवस्थामा छ । 

१० चैत २०७६ देखि सबै सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत २६ साउन खुला गरिएको थियो । 
भारतर्फ संक्रमण बढ्दै गर्दा र सबै सीमा नाका खुला हुँदा तथा आवतजावत गर्नेहरुको तथ्यांक नराखिँदा फेरी पनि संक्रमणको जोखिम बढ्ने देखिएको छ । 

पछिल्लो समय भारतबाट सीमा नाका हुँदै कति व्यक्ति नेपाल प्रवेश गरे भन्ने बारे उनीहरुको यकिन जानकारी र तथ्याकं सरकारले राखेको छैन । 

हाल दैनिक रूपमा भारतमा १ लाख ५० हजार भन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिंदै आएको तथ्यांक देखाउँछ । यस्तै नेपालमा समेत हाल दैनिक तीन सय भन्दा माथिको संख्यामा कोरोना संक्रमित थपिंदै आइरहेका छन् । यो संख्या केहीअघि भने दैनिक एक सय भन्दा तल थियो ।   

खुला सीमाका कारण नेपाल र भारत बीचको आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा संक्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सावधानी अपनाउन निर्देशन भने भएको गृहका अधिकारीहरु बत्ताउँछन् । 

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतमा संक्रमण दर बढ्दै गएपछि सीमा नाकाहरूमा स्वास्थ्य सावधानीमा कडाइका लागि निर्देशन गरिएको बताए । ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई यस्तो निर्देशन गरिएको उनले जानकारी दिए । 

‘सीमा नाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न भनिएको छ, अभिलेख राख्ने काम प्रहरीले गर्छ, स्वास्थ्य जाँचको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्छ,’ गृह प्रवक्ता बुढाले भने । 

ती विभिन्न नाका हुँदै आएकाहरुमा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्ने व्यवस्था गर्न पनि भनिएको उनले जानकारी दिए । यस्तै पछिल्लो पटक को आए को गए भन्ने विवरण पनि राख्न भनिएको उनले भनेका छन् । तर हाल दैनिक कति व्यक्ति आइरहेका छन् भन्ने उनले खुलाउन सकेनन् । 
सीमा नाकामा सीमा सुरक्षाका लागि भन्दै हाल २ सय १५ बीओपी सञ्चालनमा छन् ।  ती बीओपीहरुमा २२ हजार सशस्त्र प्रहरी खटिदैं आइरहेका छन् ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी राजु अर्यालका अनुसार भारततर्फका दक्षिण नाकामा मात्रै हाल सशस्त्रका २ सय ८ बीओपी सञ्चालनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ