arrow

कोरोना कहर

भारतमा कोरोना भयावह, एकैदिन थपिए एक लाख ७० हजार संक्रमित

लगातार दशौं दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
corona-india_1618189281.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । भारतमा आइतबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी एक लाख ६९ हजार ९१४ जना संक्रमित थपिएका छन् । 

हरेक दिन रेकर्ड बनिरहेको छ । शनिबार एकै दिन एक लाख ५२ हजार ५६५ जना संक्रमित थपिएका थिए । विगत आठ दिनदेखि निरन्तर एक लाख भन्दा बढी संक्रमित थपिने क्रममा आइतबार अहिलेसम्मकै सबैभन्दा उच्च संक्रमित थपिएका हुन् । 

शुक्रबार १ लाख ४४ हजार ८२९ संक्रमित थपिएका थिए । हरेक दिन नयाँ रेकर्ड राख्ने क्रममा संक्रमितहरु हजारौंको संख्यामा थपिएका छन् । 

बिहीबार एकैदिन १ लाख ३१ हजार ८७८ जना संक्रमित थपिएका थिए । यसअघि बुधबार एकैदिन १ लाख २६ हजार २६५ जना संक्रमित थपिएका थिए । मंगलबार १ लाख १५ हजार २६२ संक्रमित थपिएका थिए । 

हरेक दिन संक्रमणको नयाँ रेकर्ड बन्दै गएको छ । गत आइतबार पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए । 

गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै यो हप्ता रेकर्ड दिनानुदिन बढ्दै गएको हो । गत हप्ताको आइतबार १ लाख ३ हजार ७९४ जना संक्रमित एकैदिन थपिएका थिए । त्यो रेकर्डसमेत मंगलबार तोडियो । बुधबार त सीमा नै झन् नाघ्यो ।  बिहीबार त कल्पनाभन्दा बाहिर नै गयो । शुक्रबार अकल्पनीय भयो । शनिबार झन् अकल्पनीय भयो । आइतबार थप झन् अकल्पनीय रह्यो । 

भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार दशौं दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

विद्यालयहरु ठप्प पारिएका छन् । दोस्रो लहरको नयाँ भेरियन्टले युवा र बालबालिकालाई बढी आक्रमण गरेको छ । 

कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

कति छ भारतको ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ३५ लाख २५ हजार ३७९ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर ११ लाख ९५ हजार ९६० पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । आइतबार ९०४ जनाको ज्यान गएको छ । शनिबार ८३८ जनाको ज्यान गएको थियो । शुक्रबार ७७३, बिहीबार ८०२, बुधबार ६८४, मंगलबार ६३० र सोमबार ४४५ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ७० हजार २०९ जनाको ज्यान गइसकेको छ । आइतबार ७५ हजार ३८० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २१ लाख ५३ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी ६३ हजार २९४ जना संक्रमित थपिएका छन् । शनिबार ५५ हजार ४११ जना, शुक्रबार एकैदिन ५८ हजार ९९३ जना, बिहीबार एकैदिन ५६ हजार २८६ जना संक्रमित थपिएका थिए । 

आइतबार एकैदिन ३४९ जनाको ज्यान गएको छ । शनिबार ३०९, शुक्रबार ३०१, बिहीबार ३७६, बुधबार ३२२ र मंगलबार २९७ जनाको ज्यान गएको थियो । 

महाराष्ट्रमा मात्रै हाल ५ लाख ६५ हजार ५८७ जना सक्रिय संक्रमित रहेका छन् । 

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर १४ हजार ६९५ पुगेका छन् । आइतबार सबैभन्दा बढी ३ हजार ७५६ जना संक्रमित थपिए । शनिबार ३ हजार ४६९, शुक्रबार २ हजार १७४ जना संक्रमित थपिएका थिए । 

हाल छत्तीसगढमा ९० हजार २७७, कर्नाटकमा ६९ हजार २२५, उत्तर प्रदेशमा ७१ हजार २४१, केरलमा ४४ हजार ३८६, तमिलनाडूमा ४१ हजार ९५५, दिल्लीमा ३४ हजार ३४१ सक्रिय संक्रमित रहेका छन् । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार हुन थालेका खवरसमेत आएका छन् । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सन समेत नपाइएको दुखेसो पीडितले गरेका छन् । 

भारतमा अहिलेसम्म १० करोड १५ लाख ९५ हजार १४७ जनालाई कोरोनाको खोप समेत लगाइसकिएको छ । 

तस्वीर–भारतको ओडिसास्थित राजापति जिल्लाले दुई सिनेमा हल बन्द गरिदिएपछि युवाहरु फर्किदै । उक्त हलमा पवन कल्याण स्टारर तेलुगु चलचित्र ‘वकील साब’ लागिरहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ