arrow

भारतले महाकालीमा बनाइरहेको तटबन्धको नापी टोलीद्वारा निरीक्षण

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ चैत ३० सोमबार
mahakali-tathbanda.jpg

दार्चुला ।  महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको दुवै देशका नापी विभागको टोलीले निरीक्षण गरेको छ । भारतले एकतर्फी रूपमा नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरेको विषयमा संसद्मा आवाज उठेपछि टोली सोमवार दार्चुला पुगेर निरीक्षण गरेको हो ।  

दुवै देशबाट ५-५ सदस्यीय नापी विभागको टोलीले तटबन्धको निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले जानकारी दिए । निरीक्षणका क्रममा प्रारम्भिक छलफल भएको र प्राविधिक कुराहरूमा सहमति नहुँदा निष्कर्षमा पुग्न नसकिएको उनले बताए । पुनः मङ्गलवार (भोलि) बिहान ९ बजे छलफल हुने जनाइएको छ ।

 निरीक्षण टोलीमा नेपालबाट चिफ सर्भे अफिसर जयानन्द जोशीको नेतृत्वमा सर्भे अफिसर कमल शाही र कपिल कटुवाल तथा सर्भेवर शहदेश घिमिरे र सुन्दर देवकोटा रहेका छन् । यस्तै भारतको तर्फबाट डिएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धिरज सिंह र दिनेश सिंह सहभागी रहेको प्रजिअ जोशीले बताए ।

दुवै देशको प्राविधिक टोलीले संयुक्त निरीक्षण गर्दै पर्खाल ठिक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छैन भन्ने विषयमा छलफल गरेको बताइएको छ । स्थलगत निरीक्षणका लागि दुवै देशको प्राविधिक टोली आएपछि तत्कालका लागि तटबन्ध निर्माणको काम रोकिएको छ ।

भारतले एकतर्फी रूपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरिरहेको विषयमा संसद्मा काँग्रेस नेता दिलेन्द्र प्रसाद बडूले आवाज उठाएपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ