arrow

समानान्तर पार्टी चलाउने अभ्यासमा रहेका नेपाल पक्षलाई थप कारवाही गर्ने मुडमा ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
kp-madhav-jN-1618248410.jpg

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई थप कारवाही गर्ने मुड बनाइरहेकै बेला माधव नेपाल पक्ष भने पार्टीभित्र शक्ति संकलनमा लागेको छ ।

नवौं महाधिवेशनपछि शक्तिशाली देखिएका नेपाल एमाले र माओवादीबीच एकिकरणसँगै शक्ति क्षीण हुँदा अहिले पूरानो शक्ति संकलन गर्नुपरेको हो । देशभर ओली पक्षले नेपाल पक्षलाई पार्टीभित्र निषेध गरेपछि नेपाल पक्ष देशभर शक्ति संकलन गर्ने र पार्टी पुर्नगठन गर्ने तयारीमा लागेको हो । 

नेपाल पक्षको यस्तो तयारीपछि ओली पक्षले आगामी २०७८ वैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर नेपाल समूहका थप नेता कार्यकर्तालाई पार्टी निष्कासन गर्ने तयारी गरेको छ । ‘वैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ त्यसले समानान्तर कमिटी बनाउँदै हिड्ने जमातलाई कारवाही गर्न सक्छ’, ओली निकट रहेका केन्द्रीय सदस्य कर्ण थापाले भने । उनका अनुसार पार्टी अनुशासन उल्लंघन गर्ने विरुद्ध शशक्त ढंगले कारवाहीको प्रकृया अघि बढ्न सक्छ ।

नेपाल पक्षले थापालाई भने कारवाही गरेको घोषणा गरेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले तत्काल पार्टीभित्रै संघर्ष राख्नेगरी देशभर शक्ति संकनलमा लागेको हो । देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गरेर अघि बढेको नेपाल पक्षले आफ्नो पुरानो शक्तिलाई एकिकृत गर्ने क्रममा ६८ जिल्लामा सामानान्तर कमिटी निर्माण गर्न जिल्ला अध्यक्ष र सचिव तय गरिसकेको छ ।

ओली पक्ष नवौ महाधिवेशनको स्पिरिट अनुसार अघि नबढेको जनाउदै देशभर संगठन निर्माणमा नेपाल पक्ष जुटिसकेको छ । लोकतान्त्रिक अभ्यासका क्रममा नवौँ महाधिवेशनमा पुग्दा अलग–अलग प्यानल बनाएर केन्द्रीय कमिटीको निर्वाचन गरेका थियो ।

महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको पक्षमा रहेका प्रतिनिधिहरूको नेतृत्व नेपालले गरेको र अर्को पक्षबाट ओलीले नेतृत्व गर्दा ओली अध्यक्षमा जितेपनि सैद्धान्तिक नेता नेपालनै भएकाले अब देशभर सबै स्थानमा समानान्तर कमिटी बनाउनुको विकल्प नभएको नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाको भनाई छ । उनका अनुसार देशभर नै वडा तहसम्म संगठन निर्माण कार्य भैरहेकाले पनि देशभर नै नेताहरु पुगिरहेका छन् । 

महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको विरोधमा रहेका ओलीले नै पार्टीलाई विरोधाभाषको अवस्थामा पुर्‍याएको पनि नेपाल समूहले दावी गर्दै आएको छ । नेपाल पक्षले संगठन निर्माणको क्रममा आम कार्यकर्तालाई सर्कुलर गर्दै महाधिवेशनको सबैभन्दा ठूलो विरोधाभाष भएको नेपालको कम्युनिष्ट आन्दोलनमा त्यति महत्वपूर्ण सैद्धान्तिक योगदान गरेको महाधिवेशनमा विचारहरूका साथ अध्यक्षका उम्मेदवार भएका माधवकुमार नेपाल पराजित भए र सैद्धान्तिक र कार्यक्रमिक तथा साङ्गठनिक प्रस्तावको विपक्षमा रहेका केपी ओली पार्टीको अध्यक्ष निर्वाचित हुनले पनि पार्टीभित्र समस्या आएको जनाएको छ । 

सो दस्तावेज अनुसार ओलीले महाधिवेशनपछि पार्टी पंक्तिलाई विचारहीन बनाएको आरोप लगाइएको छ । ‘वस्तुतः नेता र नीतिको अन्तरविरोध संस्थागत गरेर नवौँ महाधिवेशन सम्पन्न भयो । महाधिवेशन लगत्तै त्यसले पारित गरेका वैचारिक तथा सैद्धान्तिक प्रस्तावहरूका बारेमा आम पार्टी सदस्यलाई जानकारी गराउने र तिनका आधारमा पार्टीलाई पुनर्अभिमुखीकरण गर्नु आवश्यक थियो,महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ कार्यदिशा विकास गरेको थियो । त्यसलाई पार्टीमा स्थापित गर्न विशेष योजना बनाउनु पथ्र्यो ।

तर अध्यक्ष केपी ओलीले नवौँ महाधिवेशनका ती निर्णयहरू पार्टी पङ्तिमा स्थापित गर्न कुनै चासो देखाउनु भएन, वस्तुतः नवौँ महाधिवेशनपछि पार्टीलाई विचारहीन बनाउन पार्टी अध्यक्ष स्वयं योजनाबद्धरूपले अगाडि बढ्नु भयो’, पार्टी पंक्तिलाई पठाइएको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

नेपाल पक्षले विधानअनुसार पार्टी स्कूल विभागले पार्टीका वैचारिक तथा सैद्धान्तिक कामको नेतृत्व गरेर पनि पार्टीको स्कूल विभागको आफै प्रमुख भएर पार्टी स्कूललाई ओलीले नै निष्क्रिय नै बनाएको दावी गरेका बेला ओली पक्षले पनि नेपाल पक्षका धेरै नेता कार्यकर्तालाई पार्टी बाहिर राखेर जाने नीति अख्तियार गरिरहेको स्रोतको दावी छ ।

फागुन २८ गते नेपाल पक्षका नेताहरुलाई नबोलाई ओली पक्षले एकलौटी ढंगबाट नेपाल पक्षका नेताहरुको सबै जिम्मेवारी खोसेपछि एमालेको विवाद देशव्यापी समानान्तर कमिटी बनाउने तहसम्म पुगेको थियो । अहिले नेपाल पक्ष समानान्तर कमिटी बनाइरहेको छ भने ओली पक्षले महाधिवेशनको तयारीमा जुटेको छ ।

ओली पक्षले नेपाल पक्षलाई कारवाही गर्दै वाग्मती प्रदेशका सबै जिल्ला कमिटी भंग गरेर आयोजक कमिटी बनाइसकेको छ । केन्द्रीय कमिटीलाई समेत भंग गरेर आयोजक कमिटी बनाएको ओली पक्षले नेपाल पक्षलाई पार्टीबाहिर नै राख्ने नीति अख्तियार गरिरहेको छ । यस्तो बेलामा नेपाल पक्ष देश दौडाहामा लागेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ