चैत महिनामा काठमाडौं भित्रिए ७० हजार व्यक्ति : कहाँ गए अभिलेख छैन
स्वास्थ्य जाँचमा बेवास्ता
हाम्राकुरा संवाददाता
प्रकाशित २०७७ चैत ३१ मंगलबार
934
Shares
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर उच्च गतिमा बढ्दै गर्दा नेपालमा पनि त्यसको असर देखिन थालेको छ । मुलुकको राजधानी काठमाडौंमा सोमबार मात्रै तीन सय व्यक्तिमा एकै दिन सङ्क्रमण देखिएको हो ।
देशको राजधानी भएकालेसमेत काठमाडौंमा देशका सबै भूभागका मानिसको आवतजावत हुने गरेको छ । अहिले कोरोना सङ्क्रमणको गति दोस्रो चरणमा प्रवेश गर्दासमेत मुलुकका सीमावर्ती नाकाहरूबाट नेपाल प्रवेश गरेकाहरूसमेत सिधै राजधानी काठमाडौंसम्म सहज रूपमा आइरहेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको १ देखि ३० चैत सम्मको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाका विभिन्न सीमा नाका हुँदै ६९ हजार २ सय ५६ जना व्यक्ति काठमाडौं भित्रिएका छन् । यो सङ्ख्या मंगलबार (आज) सम्म ७० हजार नाघिसकेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विभिन्न नाका हुँदै काठमाडौं भित्रिएकाहरुको तथ्याङ्क राखिएको भए पनि उनीहरू राजधानी काठमाडौं आएपछि कहाँ गए भन्ने अभिलेख पछिल्लो समय नराखिएको बताए ।
‘दैनिक रूपमा काठमाडौं आउनेको सङ्ख्या त यकिन छ, तर आएर उनीहरू कहाँ गए भन्ने बारे भने पछिल्लो समय अभिलेख राखिएको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले हाम्राकुरासँग भने ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले भारतबाट काठमाडौं आएकाहरूका बारेमासमेत यकिन तथ्याङ्क राख्न समस्या हुने गरेको बताए । उनले ठुलो सङ्ख्यामा सवारी साधन रिजर्भ गरेर आएका भारतीय नागरिकहरूको विवरण राखिएको भए पनि विभिन्न नाकाबाट नेपाल भित्रिएपछि सार्वजनिक सवारी साधन प्रयोग गरेर एक्ला एक्लै आउनेहरूको भने स्पष्ट विवरण नभएको जानकारी दिए ।
अघिल्लो चरणमा कोरोना सङ्क्रमण बढ्दा उपत्यका भित्रने नाकाहरूमा चेकजाँचमा कडाइ गरिएको भए पनि अहिले सङ्क्रमण दोस्रो लहरमा फैलंदा चेकजाँच र स्वास्थ्य जाँचमा बेवास्ता गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हाल मालवाहक र यात्रुवाहक गरी दैनिक १० हजार देखि १२ हजारको सङ्ख्यामा नागढुंगा नाका हुँदै सवारी साधन आउने जाने गरिरहेका छन् ।
यस्तै फर्पिङ नाका हुँदै दैनिक ३ हजार देखि ४ हजारको सङ्ख्यामा सवारी साधन आवतजावत गरिरहेका छन् भने साँगा नाका हुँदै दैनिक १० हजारको सङ्ख्यामा सवारी साधन आवतजावत हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले जानकारी दिए ।
हाल मुलुकका उत्तरी र दक्षिणीतर्फ गरी ३५ सीमा नाका खुला छन् । ती मध्ये भारततर्फका मात्रै ३२ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । यतिसम्मकी दैनिक रूपमा के कति सङ्ख्यामा विभिन्न नाकाहरूबाट मानिसहरू नेपाल प्रवेश गरिरहेका छन् र उनीहरू कहाँ पुगिरहेका छन् भन्ने विवरणसमेत सरकारसँग छैन ।
गृह मन्त्रालय अन्तर्गतको सीमा तथा अध्यागमन प्रशासन शाखाका प्रमुख परमानन्द घिमिरेले भारतसँग जोडिएका मात्रै ३२ सीमा नाका हाल सञ्चालनमा रहेको जानकारी दिए । ती विभिन्न नाकाहरू हुँदै नेपाल प्रवेश गर्नेहरूलाई कोरोना सङ्क्रमणका कारण ज्वरो नाप्ने र सोधपुछ गर्दै प्रवेश दिने गरिएको बताए ।
सीमा नाका हुँदै आउनेहरूको हेल्प डेस्कमा एन्टिजेन परीक्षण समेत गर्ने व्यवस्था गरिएको सरकारी पक्ष बताउँछ । तर हेल्प डेस्कहरूमा जनशक्ति तथा स्रोत साधनको पर्याप्त व्यवस्था हुन नसक्दा अधिकांश नेपालीहरू परीक्षण बिना नै निर्बाध रूपमा नाकाबाट भित्रने गरेका छन् ।
नेपाल प्रहरीले चैत महिनाको विवरण दिंदै प्रदेश १ मा १६ हजार ९ सय ६२ जना प्रवेश गरेको, लुम्बिनी प्रदेशमा ३० हजार ९ सय ९० जना तथा सुदुरपश्चिम प्रदेशमा ६४ हजार ५ सय २१ जना व्यक्ति विभिन्न नाका हुँदै नेपाल आएको जनाएको छ । तर प्रदेश २ को विवरण भने प्रहरीलेसमेत पाएको छैन । प्रहरीले उपलब्ध गराएको विवरण अपुरो छ भने कुन नाकाबाट कति प्रवेश गरे भन्ने जानकारी प्रहरीलेसमेत यकिन गर्न सकेको छैन ।
हाल दैनिक रूपमा भारतमा १ लाख ५० हजार भन्दा बढीको सङ्ख्यामा कोरोना संक्रमित थपिंदै आएको तथ्याङ्क देखाउँछ । यस्तै नेपालमा सोमबार मात्रै पाँच सय भन्दा बढी सङ्ख्यामा कोरोना संक्रमित थपिएका छन् । यो सङ्ख्या केहीअघि भने दैनिक एक सय भन्दा तल थियो ।