arrow

रगत जम्ने समस्या देखिपछि जोन्सन एन्ड जोन्सन खोप लगाउन रोक

logo
एएफपी,
प्रकाशित २०७८ वैशाख १ बुधबार
johnson-and-johnson-vaccine.webp

वासिङ्टन । अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड-१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ । एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको भनाई छ ।

अमेरिकी अधिकारीहरुको भनाई सार्वजनिक भएलगत्तै जोन्सन कम्पनीले युरोपेली मुलुकमा वितरण गर्न तयार पारिएको खोप पनि हाललाई रोकिएको जनाएको छ ।

अमेरिकामा झण्डै ७० लाखले यो खोप लिइसकेका छन् । तीमध्ये १८ देखि ४८ वर्ष उमेर समूहका छ जना महिलाको मस्तिष्कमा रगत जम्ने समस्या देखिएको अधिकारीहरुको भनाई छ ।

अमेरिकी अधिकारीहरुका अनुसार रगत जम्ने समस्या देखिएकामध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एकको अवस्था निकै जटिल छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनका वैज्ञानिक पिटर मार्क्सले युरोपमा अस्ट्राजेनिकाको खोप लगाएका व्यक्तिकै जस्तो रगत जम्ने समस्या जोन्सन एन्ड जोन्सनको खोपमा देखिएको बताए । खोप लगाएका व्यक्तिको शरीरमा विकास भएको रोगप्रतिरोधी प्रणालीसँगै जोडिएको गडबडी भएको पनि उनको भनाई छ । जोन्सन एन्ड जोन्सनले युरोपमा खोप अभियान स्थगन गर्ने र थप अनुसन्धान गरिने बताएको छ ।

विगत तीन साताको अवधिमा खोप लगाएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए नदेखिएका बारेमा आफ्ना चिकित्सकसँग परामर्श गर्न अमेरिकी अधिकारीहरुले आग्रह गरेका छन् । खासगरी बेस्सरी टाउको दुःख्ने, पेट दुःख्ने, खुट्टा दुःख्ने वा श्वास फेर्न कठिन हुने समस्या देखिए चिकित्सकसँग परामर्श गर्न भनिएको छ ।

ह्वाइट हाउसले जोन्सन एन्ड जोन्सनका कारण अमेरिकी खोप अभियानमा असर नपर्ने विश्वास व्यक्त गरेको छ । यहाँ झण्डै आधा वयस्क व्यक्तिले कम्तीमा एक डोज खोप लिइसकेका छन् ।

यसैबीच, जर्मनीमा ६० वर्षभन्दा कम उमेरका व्यक्तिले पहिलो डोज अस्ट्राजेनिकाको खोप लगाए पनि दोस्रो डोज अर्कै खोप दिने तयारी गरिएको छ । जर्मनीले ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई रगत जम्ने खतरा भन्दै दुई डोज खोप नदिने यसअघि नै घोषणा गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ