arrow

माओवादी केन्द्रले वाईसीएललाई सक्रिय बनाउने, भावी योजनाहरु सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
YCLfinal.jpg

काठमाडौं । माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल)ले आफ्नो गतिविधिलाई देशब्यापी बनाउने तयारी थालेको छ ।

वाइसीएलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ले एक अपील सार्वजनिक गर्दै सांगठनिक, राजनीतिक र आर्थिक एजेन्डाहरु अघि सारेका छन् । सांगठनिक रुपमा वाइसीएलले केन्द्रदेखि इकाईसम्म सुदृढ र व्यवस्थित संरचना, विधिवत् परिचालन गर्ने उल्लेख गरेका छन् ।

नयाँ पुस्तालाई उत्तराधिकारी नेतृत्वको रुपमा विकास गर्ने, समानुपातिक र समावेशी नेतृत्व विकास र अवसर प्रदान गर्ने, संगठनहरु हरेक विभागलाई राज्यको संरचनासंग जोड्ने, हरेक विभागलाई विषयगत भूमिकामा केन्द्रित हुन जिम्मेवारी प्रदान गर्नेलगायतका एजेन्डा अघि सारिएको छ ।

त्यस्तै राजनीतिक एजेन्डाहरु पनि अघि सारिएको छ । युवा शक्तिलाई राजनीतिप्रति आकर्षण बढाउन अभियान चलाउने, रचनात्मक सार्वजनिक बहसहरु चलाएर मुख्य नेतृत्वलाई योजना तर्जुमामा सहजता प्रदान गर्नेलगायतका छन् ।

यता आर्थिक रुपमा पनि नेतृत्वलाई सहयोग पुग्नेगरी गतिविधिहरु संचालन गर्ने तयारी वाइसीएलको छ ।  दलाल पूँजीको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गर्न राज्य र अन्तरपार्टी बहस चलाउने वाइसीएलको तयारी छ ।

युवाहरुका लागि रोजगार सृजना गरी श्रमको उचित मूल्य पाउन ग्यारेन्टीका लागि पहलकदमी लिने, साना पूँजीको सुरक्षित र मुनाफा मुलक लगानीबारे विशेषज्ञहरुसंग अन्तरक्रियात्मक छलफल चलाउने र संगठन भित्रको पुँजीलाई सामूहिक, विश्वाशिलो, एकीकृत पूँजीको व्यवस्थापन गरी प्रतिष्पर्धात्मक पूँजी बजारमा हस्तक्षेप गर्ने योजना बनाउने संगठनको तयारी रहेको अध्यक्ष दीपशिखाले जनाएका छन् ।

सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि भातृ संगठनहरुले फरक फरक गतिविधिहरु संचालन गरिरहेका छन् ।  माउ पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय गरेको थियो ।

कुनै समय हिंसात्मक गतिविधिका कारण आलोचित बनेको वाईसीएल माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेपछि‘अर्धसैनिक दस्ता’ का रूपमा गतिविधि गरेको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ