arrow

प्रधानमन्त्री र ठाकुरबीच भेट

logo
हाम्राकुरा सम्वाददाता,
प्रकाशित २०७८ वैशाख २ बिहिबार
Mahanta-Thakur-400x250.jpg.jpeg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेट भएको छ। प्रधानमन्त्रीलाई भेट्न ठाकुर बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए।

भेटवार्तामा प्रधानमन्त्री र ठाकुर बाहेक कार्यदलका सबै सदस्यहरूको पनि उपस्थिति रहेको थियो। जसपाले राखेका माग पूरा गर्न प्रधानमन्त्रीले एउटा कार्यदल समेत गठन गरेका छन्। कार्यदलमा सरकारको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् भने जसपाको तर्फबाट सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्। शुक्ल र कर्ण दुवै ठाकुरसँग निकट हुन्।

जसपाले राखेका ५ वटा माग मुद्दा कार्यान्वयन गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा बिहीबार बिहान प्रधानमन्त्री र ठाकुरबीच कुराकानी भएको जसपा स्रोतले जनाएको छ। बिहीबार बिहान प्रधानमन्त्रीसँग भेट वार्ता भएको जसपाका अध्यक्ष ठाकुरले स्वीकार गरे।

जसपाले सरकारसँग मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, रेशम चौधरीलाई रिहाइ गर्न वातावरण बनाउनु पर्ने, नागरिकता विधेयक पास गर्नु र संविधान संशोधन गर्नु पर्ने माग राखेको छ। जसपाले राखेका ५ वटा माग मध्ये सरकारले मुद्दा खारेज गर्न र रेशम चौधरीलाई रिहाइ गर्न प्रक्रिया अघि बढाएको छ।

पछिल्लो समय जसपाका अध्यक्ष ठाकुर प्रधानमन्त्रीसँग निकटता बढाउँदै गएका छन्। यस बीचमा उनले प्रधानमन्त्रीसँग एक्ला एक्लै र संयुक्त गरी पटक  पटक भेट गरिसकेका छन्। जसपा भित्र अहिले एउटा धार प्रधानमन्त्रीसँग मिल्ने पक्षमा छ भने अर्को धार प्रधानमन्त्रीसँग कुनै पनि अवस्थामा मिल्नु हुँदैन भन्ने लाइनमा छन्।

मिल्नु पर्छ भन्ने पक्षको लाइनको नेतृत्व ठाकुरले गरेका छन् भने कुनै पनि अवस्थामा मिल्नु हुँदैन भन्ने लाइनको नेतृत्व उपेन्द्र यादवले गरेका छन्। जसपामा दुई धारको विवाद बढ्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ