arrow

दिल्लीमा निषेधाज्ञा जारी

logo
एएनआई,
प्रकाशित २०७८ वैशाख २ बिहिबार
arvind-kejriwal.jpg

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी समेतरहेको दिल्लीमा निषेधाज्ञा जारी  गरिएको छ । कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निषेधाज्ञा जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

“कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कफ्र्यु लगाउनुपर्ने निश्कर्षमा हामी पुगेका हौँ,” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने ।

सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रीय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरे ।

गत बुधबार मात्रै दिल्लीमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका थिए । सरकारी अधिकारीहरूका अनुसार बुधबार दिल्लीमा एकैदिन १७ हजार २८२ जना संक्रमित भएका थिए भने १०४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।  

दिल्ली प्रदेशमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ६७ हजार ४३८ जना संक्रमित भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । ती मध्ये ५० हजार ७३६ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाइएको छ ।

सरकारी अधिकारीहरुका अनुसार दिल्ली प्रदेशमा मात्रै कोरोनाका कारण अहिलेसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ ।

भारत देशभरी भने गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरस संक्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित भएको बुधबार पहिलो पटक हो ।

यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो ।

कोरोना संक्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाखभन्दा बढी संक्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ संक्रमितहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरू खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
नयाँ