arrow

जसपा-सरकार वार्ता

जसपा र सरकारबीच सहमतिको अन्तिम मस्यौदा तयार

महन्थ पक्षधर भन्छ, ‘उपेन्द्रले चाहेर पनि पार्टी फुटाउन सक्दैनन्’

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
oli-mahantha-mahato-kp.jpg

काठमाडौ । सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी र सरकारबीच सहमतिको अन्तिम मस्यौदा तयार भएको छ । जसपा उच्च स्रोतले दिएको जानकारी अनुसार बिहीबार जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको वार्तामा सहमतिको मस्यौदा तयार भएको हो ।

बिहीबार सरकार र जसपाबीच दुई चरणमा वार्ता भएको थियो । बिहीबार बिहान प्रधानमन्त्री  ओली र जसपा अध्यक्षबीच वार्ता भएको थियो भने बिहीबार साँझ कार्यदलका सदस्यहरुको बैठक बसेको थियो ।

ठाकुर निकट स्रोतले दिएको जानकारी आगामी सोमबार या मङ्गलवारसम्म मस्यौदामा हस्ताक्षर हुने सम्भावना छ । 'सोमबार या मङ्गलवारसम्म जसपाका विभिन्न नेता कार्यकर्ताको मुद्दा खारेज प्रक्रिया टुङ्गो लाग्नेछ’ स्रोतले भन्यो ‘त्यस लगत्तै मस्यौदा हस्ताक्षर हुने सम्भावना छ ।’ माग पूरा भए पछि मात्र सरकारसँग सहमति गर्ने जसपाको नीति रहेको ठाकुर निकट एक नेताले प्रष्ट पारे ।

उनले भने,‘हामीले पहिले देखि नै राख्दै आएका माग पूरा भए पछि मात्र सहमति गर्छौ । उधारोमा सहमति गर्दैनौ भन्दै आएका छौ । सरकारले माग पूरा गर्न प्रक्रिया अघि बढाएको छ । त्यसैले अब सरकारसँग सहमति गर्ने बाटो खुला भएको छ ।’

जसपाले सरकारसँग मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने, रेशम चौधरी रिहाइ हुनुपर्ने, नागरिकता विधेयक पास हुनु पर्ने,  लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा संविधान संशोधन गर्नुपर्ने माग राखेका छ । यी ५ माग मध्ये सरकारले मुद्दा खारेज गर्न र रेशम चौधरीको रिहाइ गर्न प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्को निर्णयबाट लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्न सक्छ । अघिल्लो साता जसपाले झुटा मुद्दा खारेजकोलागि २सय ८ व्यक्तिको नाम गृह मन्त्रालयमा बुझाएको थियो । 

पछिल्लो समय जसपाका अध्यक्ष ठाकुर प्रधानमन्त्रीसँग निकट देखिएका छन् ।  नयाँ समीकरणमा निर्माणमा उनले ओलीलाई साथ दिने भएका छन् । जसपाका एक केन्द्रीय सदस्यले भने,‘प्रधानमन्त्रीले हाम्रा माग पूरा गर्नु भयो भने हामीले उहाँलाई साथ दिनुपर्छ । यो हाम्रो नैतिक दायित्व पनि हो ।’

‘चाहेर पनि पार्टी फुटाउन सक्दैनन् उपेन्द्र’
जसपाको अर्को धारको नेतृत्व गरिरहेका अर्का अध्यक्ष उपेन्द्र यादव अझै पनि  कुनै पनि अवस्थामा एमालेसँग मिल्नु हुँदैन भन्ने लाइनमा छन् । उनलाई सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराइले सक्रिय साथ दिएका छन् ।  तर ठाकुर र उपेन्द्रबीचको विवादमा ठाकुर बहुमतमा देखिएका छन् ।

ठाकुर निकट स्रोतले भन्यो, ‘हामीले प्रधानमन्त्रीसँग सहमति गरेमा उपेन्द्रजीले कुनै पनि अवस्थामा  पार्टी फुटाउन सक्नुहुन्न  । उहाँसँग संसदीय दलमा पार्टी फुटाउन ४० प्रतिशत सांसद पुग्ने अवस्था छैन ।’

उपेन्द्रलाई भट्टराईबाहेक राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, लिला सिटौलाले साथ दिएका छन् । पूर्व राजपाका अध्यक्ष मण्डलका ६ सदस्य मध्ये महेन्द्र यादवले पनि उपेन्द्रलाई साथ दिएका छन् । बाँकी सबै सदस्यहरुले ठाकुरलाई साथ दिएका छन् । ठाकुरको पक्षमा राजेन्द्र महतो र शरत्सिंह भण्डारी खुलेरै लागेका छन् ।

पोहर साल झण्डै समाजवादी पार्टी फुटाएका इस्तियाक राइ, प्रदीप यादव, बिमल श्रीबास्तब लगायतका सांसदहरु पनि महन्थलाई साथ दिएका छन् । सुरेन्द्र यादव भने यस बेला मौन बसेका छन्।



नयाँ