arrow

सरकार प्याब्सन र एनप्याब्सनसँगको सेटिङमा विद्यालय बन्द नगर्ने सोचमा छ : सांसद रायमाझी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
Ramesh-Jung-rayamajhi.jpg

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सदस्य रमेशजंग रायमाझीले विद्यालय सञ्चालकको चलखेलका कारण सरकारले विद्यालय बन्द गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले समितिको शुक्रवारको बैठकमा राखेको धारणाबारे जानकारी दिँदै हाम्रा कुरासँग भने, ‘सरकार आफैँ प्याब्सन र एनप्याब्सनसँग सेटिङ मिलाएर विद्यालय बन्द नगर्ने र विद्यार्थीको स्वास्थ्यसँग खेलबाड गर्ने सोचबाट अघि बढेको छ, विद्यालय बन्द गराउनै पर्छ, संक्रमणबाट विद्यार्थीलाई जोगाउनै पर्छ, सरकार चुक्दै छ ।’

उनले प्याब्सन र एन-प्याब्सनहरुको आर्थिक चलखेलमा शिक्षा मन्त्रालय लागेको र विद्यार्थीहरूको स्वास्थ्यमा खेलबाड गरिएको आरोपसमेत लगाए ।

रायमाझीले ललितपुरस्थित डीएभी स्कुलले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि हुँदा पनि विद्यालय सञ्चालन गरेर जोखिम बढाएको समिति बैठकमा धारणा राख्दै भनेका छन् ।

समितिको शुक्रवार बसेको बैठकले कोरोना संक्रमणको गतिलाई नियन्त्रणमा राख्न भौतिक उपस्थिति हुने गरी पढाइ नगर्न र वैकल्पिक विधिमार्फत कक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकले सरकारलाई कोरोना संक्रमणको गतिलाई नियन्त्रणमा लिन र जोखिम कम गर्न तत्काल विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

बैठकले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि हुँदा पनि विद्यालय बन्द नहुँदा जोखिम बढेको निष्कर्ष निकालेको हो ।

समितिले विद्यालय बन्द भएपछि शिक्षण सिकाइका लागि वैकल्पिक विधि कोमार्फत पठनपाठन गर्न गराउन पनि निर्देशन दिएको छ । यस्तै विद्यालय बन्द गर्न नमान्नेलाई कडा कारबाही गर्नसमेत समितिले निर्देशन दिएको छ ।

समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरूको सुझावलाई ध्यानमा राखेर यो निर्णय लिएको हो । निर्देशनमा स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थ्यका मापदण्ड हरेक नेपालीहरूले पालना गर्न जरुरी भएकाले यसमा कडाइ गर्न जरुरी रहेको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ