arrow

बागमती नदीमा मनपरी: नगरपालिकाको स्वीकृति बिना नै मोटर बोट सञ्चालन

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
bagmati-boat.jpg

रौतहट।  चन्द्रपुर नगरपालिका १ मा रहेको पर्यटकीय स्थल नुनथर क्षेत्र स्थित बागमती नदीमा सञ्चालनमा रहेको मोटर बोट नगरपालिकाको स्वीकृत बिना नै सञ्चालनमा रहेको छ । सम्बन्धित निकायबाट स्वीकृति नलिई बागमती नदीमा मोटर बोट सञ्चालन गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

एक वर्ष अघि देखी नुनथर क्षेत्रको बागमती नदीमा मोटर बोट सञ्चालनमा छ । पछिल्लो दिनहरूमा ५ वटा मोटर बोट सञ्चालनमा रहेको छ । एक जना यात्रुको एक सय ५० भाडा उठाउने गरिएको छ । बागमती इन्भेस्टमेन्ट प्रालिले पर्यटकीय चन्द्रपुर विकास समिति नामक संस्था सँगको सहकार्यमा मोटर बोट सञ्चालन गरी एक व्यक्ति बराबर एक सय ५० उठाउने गरेको हो ।

सञ्चालक आफैले भाडाको दर तोकेर लिन नपाउने नगर कार्यपालिकाको बैठकले तोक्नुपर्ने, मोटर बोट सञ्चालन गर्ने स्थान र क्षेत्र नगरपालिकाले तोक्नुपर्ने चन्द्रपुर नगरपालिकाका  एक नगर कार्यपालिका सदस्यले बताए । एक वर्ष देखी लाखौँ रकम निजी कम्पनीले सर्वसाधारणबाट असुली गरी रहे पनि सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय मदन एस्मालीले  गुनासो गरेका छन् ।

स्थानीय तहको ऐनमा मोटर बोट सञ्चालनका लागी नगरपालिका सँग स्वीकृति लिनुपर्ने उल्लेख छ । बन क्षेत्रमा रहेकाले बन कार्यालय सँग समेत स्वीकृति लिनुपर्ने नियम छ । नुनथर धार्मिक बन दर्ता रहेकाले धार्मिक बन सँग पनि समन्वय हुनुपर्ने बताइएको छ ।  सुरक्षा मापदण्ड बिना नै मोटर बोटमा यात्रुहरु राख्ने गरिएको छ । दक्ष चालक नहुनु , सुरक्षा र उद्धारका सामाग्री बिना नै मोटर बोट सञ्चालन गर्दा जोखिम बढेको गुनासो छ ।

नुनथर क्षेत्रमा दैनिक सयौँ मानिस घुम्न आउने गरेका छन् । चैत वैशाखमा नुनथर क्षेत्रमा वनभोज तथा घुम्न आउनेको घुइँचो नै लाग्ने गरेको छ । ती मध्ये अधिकांश मोटर बोट चढ्छन् । तर उनीहरूले तिरेको पैसा कहाँ जान्छ भन्ने कुनै निकायलाई जानकारी छैन । बागमती नदीमा मोटर बोट सञ्चालन गरी रकम उठाइरहेको कम्पनीले सुरक्षा मापदण्ड अपनाएर यात्रुहरु चढाउने गरेको दाबी गरे पनि रकम असुल्ने अनुमति कतैबाट नपाएको स्थानीयले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ