arrow

भारतमा एकैदिन थपिए दुई लाख ३४ हजार कोरोनाका संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ४ शनिबार
corona-india_1618102834.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित एकैदिन शुक्रबार २ लाख ३४ हजार थपिएका छन् । यो एकै दिन थपिएको कुनै पनि राष्ट्रको सबैभन्दा बढी हो । कोरोनाको संक्रमण भारतमा कहाली लाग्दो स्थितिमा पुग्ने क्रममा शुक्रबार (अप्रिल १६, बैशाख ३ गते) २ लाख ३३ हजार ७५७ जना थपिएका हुन् । 

हरेक दिन भारतमा रेकर्ड बनिरहेको छ । बिहीबार २ लाख १६ हजार ६४२ जना थपिएका थिए । यसअघि बुधबार १ लाख ९९ हजार ३७६ थपिएका थिए । संक्रमण उच्च बिन्दूमा पुगिरहँदा १५ दिनदेखि विश्वकै सबैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । मंगलबार १ लाख ८५ हजार १०४ संक्रमित थपिएका थिए । 

सोमबार १ लाख ६० हजार ६९४ जना संक्रमित थपिएका थिए । आइतबारको तुलनामा सोमबार करिब १० हजार संक्रमित कम पाइए पनि मंगलबार भने ह्वात्तै बढेका थिए । आइतबार एक लाख ६९ हजार ९१४ जना संक्रमित थपिएका थिए ।  

हरेक दिन संक्रमित बढेको रेकर्ड बनिरहेको छ । निरन्तर बढिरहेको आँकडाले भारतसँगै छिमेकी देशहरुमा पनि कोरोनाको स्थिति भयावह बन्ने अवस्था देखिन्छ । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । विद्यालयहरु ठप्प पारिएका छन् । कक्षा १० को परीक्षा रद्द गरिएको छ भने १२ को परीक्षा स्थगित गरिएको छ । दोस्रो लहरको नयाँ भेरियन्टले युवा र बालबालिकालाई बढी आक्रमण गरेको छ । 

कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

कति छ भारतको ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर १६ लाख ७३ हजार १६ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । शुक्रबार दोस्रो लहरपछिको सबैभन्दा धेरैको १ हजार ३३८ जनाको ज्यान गएको छ । बिहीबार १ हजार १८२ जनाको ज्यान गयो ।बुधबार १ हजार ३७ जनाको ज्यान गएको थियो । मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ७५ हजार ६७३ जनाको ज्यान गइसकेको छ । शुक्रबार १ लाख २२ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २६ लाख ६६ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । शुक्रबार अहिलेसम्मकै सर्वाधिक ६३ हजार ७२९ जना संक्रमित थपिएका छन् । बिहीबार ६१ हजार ६९५ जना, बुधबार ५८ हजार ९५२ जना, मंगलबार ६० हजार २१२ संक्रमित थपिएका थिए । 

हाल महाराष्ट्रमा मात्रै ६ लाख ३८ हजार ३४ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार अहिलेसम्मकै बढी ३९८ जनाको ज्यान गएको छ । बिहीबार ३४९ जनाको , बुधबार २७८ जनाको, मंगलबार २८१ जनाको ज्यान गएको थियो । 

राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ६१ हजार ५ पुगेका छन् । उत्तर प्रदेशमा १ लाख ५० हजार ६७६ जना सक्रिय संक्रमित छन् । 

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ३३ हजार ४६५ जना पुगेका छन् । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ६ हजार २५३ जना संक्रमित थपिएका छन् । बिहीबार ६ हजार १३३ जना संक्रमित भएका थिए । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार हुन थालेका खवरसमेत आएका छन् । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सन समेत नपाइएको दुखेसो पीडितले गरेका छन् । 

भारतमा अहिलेसम्म ११ करोड ७२ लाख २३ हजार ५०९ जनालाई कोरोनाको खोप समेत लगाइसकिएको छ ।



लोकप्रिय समाचार
नयाँ